काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूले शहरी विद्रोहबाट सत्ता कब्जा गर्ने सपना देखेको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै उहाँले तत्कालीन माओवादीले शहरी विद्रोहको माध्यमबाट सत्ता कब्जा गर्ने रणनीति अपनाए जस्तै राजावादीहरूको अहिलेको बाटो त्यस्तै भएको जिकिर गर्नुभयो ।
उहाँले राजावादीहरूले अगाडि सारेको पश्चगामी मुद्दाहरू सफल हुन नसक्ने बताउनुभयो । आगामी दिनहरूमा राजावादीहरू अवाञ्छित क्रियाकलापमा लाग्ने भन्दै उहाँले त्यस्ता गतिविधिमा लाग्नेहरूलाई संवैधानिक परिधिमा फर्किन बाध्य पार्ने गरी पार्टीले गतिविधि गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पार्टीका सम्पूर्ण युवा एकपटक पुनः जुरमुराउनु पर्ने अवस्था सिर्जना भएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “जसरी विगतमा माओवादीहरूले शहरी विद्रोहका माध्यमबाट सत्ता कब्जा गर्ने सपना देखेका थिए, आज राजावादीहरू त्यसैगरी सपना देख्दै छन् । देशभरिका आफ्ना समर्थकहरूलाई भेला गरेर उनीहरू भन्दैछन् जनता त अब राजसंस्थाको पुनःस्थापनाको पक्षमा छन् भन्ने खालको दाबी गरिरहेका छन् । उनीहरूले जुन प्रकारको बाटो अवलम्बन गरेका छन् त्यो बाटो हिजो माओवादी केन्द्रले अविलम्बन गरेको बाटो नै हो, जसलाई हामीले असफल बनाएका थियौं, राजावादीहरू त्यही बाटो अविलम्बन गर्दैछन् ।”
उहाँले राजावादीहरूका अवाञ्छित क्रियाकलापलाई कानुनको सीमाभित्र आउनका लागि बाध्य पार्ने तरिकाहरू अवलम्बन गर्नुपर्छ बताउनुभयो । महासचिव पोखरेलले विगतमा माओवादीको सशस्त्र द्वन्द्वलाई अन्त्य गरी माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन एमालेले मुख्य भूमिका खेलेको पनि जिकिर गर्नुभयो । उहाँले राजावादीहरूको क्रियाकलाप असफल पार्न पार्टी एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।