काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बठैकमा सत्ता र प्रतिपक्ष दलका सांसदहरूले ऊर्जामन्त्री दीपक खड्कालाई जलविद्युत् आयोजनाका विषयलाई लिएर प्रश्न गरेका छन् । शुक्रबार ऊर्जा मन्त्रालयको काम कारबाहीका विषयमा जानकारी लिन बसेको समिति बैठकमा सांसदहरूले ऊर्जामन्त्रीलाई जलविद्युत् आयोजनाहरूका विषयलाई लिएर प्रश्न गरेका हुन् ।
सांसदहरूले मन्त्री खड्कालाई जगदुल्ला जलविद्युत् आयोजना ठेक्का र किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत् आयोजनाको शेयर बिक्रीका विषयमा प्रश्न गरेका छन् । समितिमा मन्त्री खड्कालाई सत्ता पक्षका सांसदहरूले समेत मन्त्रालयले गरेका कामको विषयमा आलोचना गरेका छन् । समिति बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसद गोकर्ण विष्टले किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर बिक्रीका विषयमा मन्त्री खड्काको नियत राम्रो नभएको बताउनुभयो । उहाँले आयोजना निर्माणका लागि लगानी साझेदारी गर्ने सम्बन्धी कार्यविधि बनाउँदा नै सेटिङ भएको देखिएको बताउनुभयो ।
उहाँले विद्युत् उत्पादन कम्पनीका लगानीकर्ताहरूलाई जानकारी छ कि छैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने अवस्था भए पनि ऊर्जामन्त्रीको प्रबन्धपत्रलाई टेकेर धेरै काम गरेको देखिएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर बेच्ने प्रक्रिया अगाडि बढाइनु नै शंकास्पद भएको बताउनुभयो । उहाँले रणनीतिक महत्त्वका आयोजनामा निःशुल्क बिजुलीको विषयमा केही उल्लेख नगरी निजी कम्पनीलाई शेयर बेच्ने विषय निकै गम्भीर भएको उल्लेख गर्नुभयो । उहाँले ४४५ मेगावाटको किमाथांका अरुण र १९०२ मेगावाटको मुगु कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत शेयर बिक्रीका लागि मंसिर २३ गते आशयपत्रमा शंका रहेको बताउनुभयो ।
उहाँले मुगु कर्णाली अर्धजलाशययुक्त आयोजनाको ५१ प्रतिशत शेयर बिक्री गरेर कति पुर्याउन खोज्नुभएको हो ? भन्दै प्रश्न गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले ऊर्जामन्त्रीले कुनै एउटा अमूक कम्पनीलाई शेयर बेच्ने सेटिङ सहित आशयपत्र मागेको आरोप लगाउनुभयो । उहाँले सरकारले कसैको स्वार्थका लागि आयोजना कसैको जिम्मा लगाउन नहुने बताउनुभयो । उहाँले सरकारले कुनै सेटिङ र मिलेमतोमा आयोजना जिम्मा लगाउन नहुने उल्लेख गर्नुभयो ।
उहाँले सांसद ज्वालाले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा पनि मन्त्री खड्काको बद्नियत रहेको बताउनुभयो । उहाँले जगदुल्ला आयोजना ठेक्काका लागि कमिसन खेल भएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर बेच्ने योजनाबाट किन पछाडि हट्नुभयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले मन्त्री खड्कामाथि दुई आयोजनाको शेयर सेटिङमा बेच्न खोजेको आरोप लगाउनुभयो । उहाँले कार्यविधि सेटिङमा बनाइएको पनि उल्लेख गर्नुभयो । उहाँले जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्कामा निर्माण कम्पनीलाई मन्त्रालयमा बोलाएर निर्माण कम्पनी छनोटमा हस्तक्षेप गरेको आरोप लगाउनुभयो । उहाँले उहाँले जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पनि अख्तियारमा उजुरी परेपछि रद्द गर्न बाध्य हुनुभएको हो ? भन्दै अर्को प्रश्न गर्नुभयो ।
एमाले सांसद ठाकुर गैरेले मन्त्री खड्काले समितिलाई छल्न खोजेको आरोप लगाउनुभयो । उहाँले मन्त्रालयबाट भइरहेका गलत काममा समर्थन गर्न नसकिने बताउनुभयो । उहाँले सरकारले २८ हजार ५ सय मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राम्रो भएको भन्दै काम गर्ने मनासाय राम्रो नदेखिएको बताउनुभयो । उहाँले मन्त्री भएदेखि अहिलेसम्म सार्वजनिक रूपमा विवादित विषयहरू सार्वजनिक भएको भन्दै असन्तुष्टि जनाउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पनि मुगु कर्णाली (१९०२ मेगावाट) र किमाथांका अरुण (४५४ मेगावाट) जलविद्युत परियोजनाहरूको अनुमति बिक्रीका विषय सेटिङमा भएको देखिएको बताउनुभयो । उहाँले जगदुल्ला (१०६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण कम्पनी छनोट प्रक्रिया मन्त्रीको हस्तक्षेपका कारण रद्द भएको पनि बताउनुभयो ।
सांसदहरूले ऊर्जा मन्त्रालयले गरेका पछिल्लो गतिविधि विवादित हुँदा सांसदहरू समेत विवादित बन्नुपर्ने अवस्था रहेको भन्दै गलत काम सच्याउन मन्त्रीलाई सुझाव दिएका छन् ।