काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मधेशवादी राजनीतिक दलहरूको कार्यदलसँग पहल गरिदिन आग्रह गरेको छ ।
सोमबार सिंहदरबारमा मधेशवादी ८ राजनीतिक दलहरूको बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन कार्यदलसमक्ष आग्रह गरेको बताउनुभयो । उहाँका अनुसार बैठकमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका बारेमा विभिन्न कुराहरू राखेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आठ दलको कार्यदलभित्र नागरिक उन्मुक्तिले हिजो टीकापुर घटना भइरहँदा अहिले पनि ५८ जनामाथि झुटा मुद्दा लगाइएको थियो, २८ जना जेलमा बस्यौं हामी । ३० जना फरारको सूचीमा हुनुहुन्छ । ३ सय जनाको नाम र ठेगाना मिलेन भनेर अझै पनि त्यो मुद्दाको तामेलीमा छ । जुनसुकै बेला नाम ठेगाना प्रमाणित भए तिनीहरूमाथि पनि मुद्दा लाग्नसक्छ । त्यो थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गरिएन, त्यो पनि उठाइदिनुस्, राख्दिनुस् । राख्नुहुन्छ कि राख्नुहुन्न । मोर्चाको नामका विषयमा पनि कुराकानी भयो ।”
उहाँले मधेशवादी ८ राजनीतिक दलहरू मिलेको मोर्चाको नामका बारेमा पनि बैठकमा छलफल भएको बताउनुभयो । समान मुद्दा बोकेका राजनीतिक दलहरूको बैठक र एक आपसमा छलफल हुनु स्वाभाविक भएको बतउनुभयो । मोर्चाले विशेषतः समान मुद्दालाई संसद् र सरकारसमक्ष कसरी उठाउने भन्ने बारेमा पनि छलफल गरेको बताउनुभयो । विगतमा भई आएका घटनालाई अहिलेको राज्यले हेर्ने दृष्टिकोण र अहिलेसम्म पनि किनारा नलागेका विषयहरूमा छलफल भएको बताउनुभयो ।
उहाँले सरकारले ल्याएको समाजिक सञ्जाल सम्बन्धी अध्यादेश समग्रमा राम्रो रहेको बताउनुभयो । भूमि सम्बन्धी अध्यादेशप्रति भने पार्टीको असन्तुष्टि रहेको बताउनुभयो ।