काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न गठन भएको समितिले ४० जनाको नाम छनोट गरेको छ । कानुन मन्त्रालयमा हिजो बसेको संक्रमणकालीन न्याय सम्बन्धी सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको बैठकले दाबेदारहरूको संक्षिप्त सूची सार्वजनिक गर्ने निर्णय गरेको हो ।
समितिले अध्यक्षमा मात्र आठ जनाको नाम तय गरेको हो । समितिले मंसिर ३० गतेभित्र सरकारलाई सिफारिस गर्ने जनाएको छ ।
दुवै आयोगका अध्यक्षका लागि अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, विजयसिंह सिंजापति र विश्वराज कोइरालाको नाम परेको छ । त्यसैगरी सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि मात्र काशीराज दाहाल, सुदीप पाठक र शेरबहादुर केसीको नाम छ । दुवै अध्यक्षका लागि छनोट सूचीमा परेका अच्युतप्रसाद भण्डारी र विजयसिंह सिंजापतिलाई सदस्यमा पनि राखिएको छ । सिफारिस समितिले आज छनोट सूचीमा परेकाहरूको नाम सार्वजनिक गर्ने जनाएको छ ।
आयोगको पदाधिकारीका लागि एक सय ५६ जनाको आवेदन परेको थियो । त्यसमध्ये सिफारिस समितिले अध्यक्षमा आठ सहित ४० जनाको नाम संक्षिप्त सूचीमा समेटेको हो । अब समितिले संक्षिप्त सूचीमा परेकाहरूमाथि दाबी विरोधका लागि पाँच दिनको समय दिएर नाम सार्वजनिक गर्ने छ । उनीहरूलाई तीन दिन विषयवस्तु प्रस्तुतिको समय दिइने छ । त्यसपछि समितिले दुई अध्यक्ष र आठ सदस्यको नाम सरकारलाई सिफारिस गर्ने छ ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगमा झन्डै ६३ हजार र बेपत्ता छानबिन आयोगमा तीन हजारभन्दा धेरै निवेदन परेका छन् ।