नेपाल र चीनबीच के-के विषयमा भयो सहमति ?

मंसिर १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र चीनबीच के-के विषयमा भयो सहमति ?

काठमाडौं । चीनको चार दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चीनफिङ तथा प्रधानमन्त्री ली छ्याङसँग उच्च राजनीतिक भेटवार्ता गर्नुभएको छ । भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओली र समकक्षी लीको उपस्थितिमा दुई देशबीचमा ९ बुँदे सहमति र समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ ।

दुवै देशबीच नौं बुँदे सहमति भए पनि नेपालले तयार पारेको बीआरआई अन्तर्गत अनुदान परियोजना अगाडि बढाउने विषयमा भने चीन सहमति हुन सकेन । सत्तारुढ दुई दलले तयार पारेको टोखा–छहरे सुरुङमार्ग बाहेकका अन्य कुनै पनि विषयमा सहमति गर्न चीन तयार नभएपछि नेपालले गरेको प्रस्तावमाथि छलफल हुन नसकेको हो ।

सहयोग र सहकार्यसम्बन्धी पत्रमा हस्ताक्षर गर्दै दुई देशबीच व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदान-प्रदान, कनेक्टीभिटी, औद्योगिकक्षेत्र विकास, भौतिक विकासका संरचना, स्वास्थ्य सहयोग, कृषि ब्यापार, पर्यटन लगानी र विज्ञान तथा प्रविधिका क्षेत्रलाई अगाडि बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

दुई देशबीच टोखा–छहरे सुरुङमार्ग निर्माण तथा नेपाल-चीन ब्यापार अभिवृद्धिका विषयमा सहमति भएको छ भने वसन्तपुरको नौतले दरबार पुनर्निर्माण सम्पन्नताको प्रमाणपत्र आदानप्रदान भएको छ । त्यसैगरी राँगाको तयारी मासु निर्यात गर्नेसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । दुई देशबीच विकास योजनासम्बन्धी, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी भएको छ ।

त्यसैगरी नगद सहयोगसम्बन्धी पत्र आदानप्रदानसमेत भएको छ । त्यस्तै स्वयम्‌सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिबारे समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसको सहमतिमा नेपालका तर्फबाट बीआरआई अन्तर्गत अनुदानमा लिने गरि प्रस्ताव गरिएका हिल्सा सिमकोट सडक, किमाथांका खाँदबारी सडक र पुल, जिलोङ-केरुङ-काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं-हेटौंडा पोडवे, २ सय २० केभी प्रसारण लाइन , मदन भण्डारी विश्वविद्यालय लगायतका विषय भने समेटिएका छैनन् ।

चीन भ्रमणमा रहनुभएका ओलीले आज चिनियाँ राष्ट्रपति सी चीनफिङसँग बेइजिङको देताइ स्टेट गेष्ट हाउसमा भेटवार्ता गर्नुभएको थियो । त्यसअवसरमा दुवैतर्फका प्रतिनिधिमण्डल सहभागी थिए । प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच एक्लाएक्लै २० मिनेट भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले आजै चिनियाँ जनकंग्रेसका अध्यक्ष चाओ ल ची सँग पनि भेटवार्ता गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.