काठमाडौं । प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका अधिकांश नेताहरुले अध्यक्ष पुष्पकमल दाहालको ३५ वर्षे नेतृत्वमाथि प्रश्न उठाउँदै हस्तान्तरणको माग गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी समितिको बैठकमा सदस्यहरुले अध्यक्ष दाहालको नेतृत्वप्रति प्रश्न उठाएका हुन् । अध्यक्ष दाहालले लिखित प्रतिवेदन पेस नगरी आफ्ना धारणा राखेर सुरु भएको स्थायी समिति बैठकमा अहिले नेताहरुले सरकार र पार्टी तथा नेतृत्वको विषयमा आ-आफ्ना धारणा राखिरहेका छन् ।
अधिकांश नेताहरुले सरकार र पार्टीभित्र दाहालले लामो समय नेतृत्व गर्दा पनि पुस्तान्तान्तरणको विषयमा चुइँक्कसम्म नबोलेको भन्दै प्रश्न उठाएका छन् । अधिकांश पदाधिकारी, नेतादेखि सदस्यहरुले दाहालले आफू नै नेतृत्वमा बसिरहने मनसाय राखेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
बैठकमा नेताहरुले सरकारमा मात्र केन्द्रित भइरहँदा पार्टीको काम लथालिंग अवस्थामा पुगेको तथा नेतृत्वले पनि संगठन निर्माणमा ध्यान नपुर्याएका कारण जनताबाट अलग हुनपुगेको धारणा राखेका छन् । पार्टीलाई शुद्धीकरण र सुदृढीकरण गरेर अघि बढ्नुपर्नेमा सबै नेताहरुको समान धारणा भए पनि त्यसका लागि विशेष महाधिवशेनबाटअघि बढ्ने कि नियमित महाधिवेशन गरेर अघि बढ्ने भन्नेमा नेताहरु अलमलमा छन् ।