‘गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयो’

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयो’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारीसम्बन्धी प्रकरण नयाँ सत्ता समीकरणसँग जोडिएर आएको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले पत्रकारिता पेसामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुभएको प्रसंग कोट्याउँनुभयो । उहाँले गृहमन्त्री लामिछानेको विषय अहिले नयाँ सत्तासमीकरणमा पनि जोडिएर आएको बताउनुभयो ।

पत्रकारितामा आफूले पनि ६ महिना काम गरेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसमा दुःख भए पनि सम्मानित पेसा भएको बताउनुभयो । उहाँले पत्रकारिता पेसालाई सम्मानित बनाउन आफूले आफैँलाई माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेकोसमेत धारणा राख्नुभयो ।

‘पत्रकारिता पेसामा दुःखचाहिँ छ । तर आफूलाई माहोल बनाउँदै गयो भने यो सेक्टर नराम्रो होइन । तपाईंहरुकै पत्रकारिता क्षेत्रबाट अहिले नेपाल सरकारको उपप्रधानमन्त्री माननीय गृहमन्त्री हुनुहुन्छ । भनेपछि तपाईंहरु यदि राम्रो ढंगले जाने हो भने यद्यपि केही कुराहरु उहाँको विषयमा उठेको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘यो समीकरणको विषयमा समेत त्यो जोडिएर आएको अवस्था छ । तथापि पनि यो पेसा नराम्रो होइन ।’

मन्त्री चौधरीले नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित पेसाका रुपमा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मरणसमेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.