काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षीले सदनमा उठाएका मुद्दाको सुनुवाइ गर्न सरकारलाई रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक पदम गिरीले अघिल्लो बैठकमा आफूहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसद्मा नआएको भन्दै आक्रोश व्यक्त गरे । प्रधानमन्त्रीले जवाफ नदिई संसद्लाई छलेर हिँडिरहेको भन्दै उनले सभामुखलाई पुनः रुलिङ गर्न पनि आग्रह गरे ।
एमाले सांसदहरूले आज पनि सदन अवरुद्ध गर्न खोजेपछि सभामुख घिमिरेले प्रतिपक्षीले उठाएका मुद्दाको सुनुवाइ गर्न सरकारलाई रुलिङ गरेका थिए ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा पनि सांसदहरुले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वाला, रामग्राम निजी कम्पनीलाई दिने प्रक्रियामा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र अख्तियारमा बयान दिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई सरकारबाट हटाउनुपर्ने लगायत माग राखेका छन् ।
त्यो सँगै सांसदहरूले पर्यटनमन्त्री सुदन किरातीले सस्तो लोकप्रियताका लागि काम गरिरहेको भन्दै उत्पादन नै बन्द भइसकेका जहाज ल्याउन खोजिएको विषयमा सरकारले गम्भीर ध्यानाकर्षण पनि गराए ।
सांसदहरूले सहकारी तथा मिटरब्याजपीडितका समस्या समाधान गर्न, दुग्ध किसानलाई भुक्तानी दिन, मधेश प्रदेशको शिक्षामा ध्यान दिन, ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक ल्याउन र बाँदरले किसानलाई दुःख दिएको समस्या समाधान गर्नुपर्नेलगायतका माग गरेका थिए ।