प्रदेश सम्मेलनमा कांग्रेसको विवाद छताछुल्ल, गुट-उपगुटले पायो प्रश्रय

पुस ७, २०८० |अनिल मिश्र
प्रदेश सम्मेलनमा कांग्रेसको विवाद छताछुल्ल, गुट-उपगुटले पायो प्रश्रय

जनकपुर । कुनै बेला नेपाली कांग्रेसको जनाधार क्षेत्र मानिएको मधेश प्रदेशमा भइरहेको कांग्रेसको सम्मेलनमा पार्टीभित्रको गुटबन्दी छताछुल्ल भएको छ । प्रदेश सम्मेलन गरिरहेको कांग्रेसभित्र प्रत्येक प्रदेशमा विवाद देखिनुले मुलुकको ठूलो पार्टी कांग्रेसभित्रको गुटउपगुटको राजनीतिलाई मात्र देखाएन आम कांग्रेसी जनमा निराशा छाएको छ ।

नेता कार्यकर्ता र शुभचिन्तक माझ ऊर्जा प्रवाह गर्ने उद्देश्यका साथ पछिल्लो समय नेपाली कांग्रेसले प्रदेश सम्मेलन गरिरहेको छ । तर, लुम्बिनी र गण्डकी सम्मेलनमा झै मधेश सम्मेलनमा पनि कांग्रेसभित्रको विवाद चुलिएको छ । संघीय संरचनाअनुसार प्रदेश समिति गठन भएको २ वर्ष पछि कांग्रेसले मधेश प्रदेशको सम्मेलन जनकपुरमा आयोजना गरेको हो ।

दुई दिवशीय प्रथम सम्मेलनको पहिलो दिन तिरुहतिया गाछीमा आयोजित उद्‌घाटन सत्रमा आशनग्रहणका विषयमा नेताहरुबीच विवाद देखियो । वरिष्ठ नेता शेखर कोइरालालाई दोस्रो वरीयता क्रममा मञ्चमा राख्न गरेको अनुरोधलाई मधेश प्रदेश समितिले बेवास्ता गरेको छ ।

‘हाम्रो पार्टीको प्रोटोकल निर्धारण भएको छैन । यो गोलमाल हुनुको कारण सम्बन्धित निकायबाट निर्धारण नभएकैले हो,’ कांग्रेस नेता रामसरोज यादवले भने, ‘म कान्तिपुर टीभीमार्फत केन्द्रका नेताहरुलाई के भन्न चाहन्छु भने- छिटोभन्दा छिटो पार्टीको प्रोटोकल निर्धारण गरियोस् ।’

कांग्रेसको केन्द्रीय उपसभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्रीलगायत कैयौंपटक मन्त्री रहिसकेका प्रभावशाली नेताका रुपमा परिचित विमलेन्द्र निधिलाई समेत मधेश प्रदेशमै बेवास्ता गरिएको देखिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको स्वागतका लागि विमानस्थल पुगे पनि मर्यादाक्रमलाई कुनै ख्यालै नगरी १५औं स्थानमा राखेपछि निधि मञ्चमा आशनग्रहण गर्नुको साटो दर्शकदीर्घामै बसिरहे ।

नेताहरुले राजनीतिलाई सेवाभन्दा व्यवसाय बनाएको, एक-अर्कालाई स्वीकार नगर्ने प्रवृत्तिलगायत कारण मधेशमा कांग्रेसको जनाधार खस्कँदो छ । नेताहरुबीचको आन्तरिक कलह सार्वजनिक मञ्चमा छताछुल्ल भएपछि समर्थकहरु पनि दुःखी छन् ।

नेपाली कांग्रेस मधेश प्रदेशभित्रको सबै गतिविधि नजिकबाट नियालिरहेका पार्टी सभापति शेरबहादुर देउवालाई भने अन्तरघातकै कारण क्षति हुँदै आएको चिन्ता छ ।

सामुनपातिकलगायत व्यवस्था कारण वर्तमान अवस्थामा कुनै पनि दललाई बहुमत आउने सम्भावना नदेखेका देउवाको कांग्रेसलाई आन्तरिक कलहबाट जोगाउन अनुरोध छ ।

हुन त नीति र सिद्धान्तप्रति बफादारलाई बेवास्ता गर्दै पैसावाला उद्योगी व्यवसायीको नेपाली कांग्रेसभित्र हालिमुहाली रहेको आरोप लाग्दै आएको छ । २०४८ पछि सबभन्दा बलियो पार्टीका रुपमा रहेका नेपाली कांग्रेस संघीय व्यवस्थापछिको प्रथम आमनिर्वाचनमा मधेश प्रदेशमा चौथो नम्बरमा पुगेको थियो ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।


Enter Kantipur TV HD
Advertisement