माओवादीको केन्द्रीय समिति बैठक आजदेखि

श्रावण १७, २०८० |कान्तिपुर टीभी संवाददाता
माओवादीको केन्द्रीय समिति बैठक आजदेखि

फाइल तस्बिर

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा बिहान ११ बजे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ । अध्यक्ष दाहाल गत पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन् ।

बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिए । माओवादीले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरेको छ । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि आधारित रहेर धारणा राख्ने गरी कार्यक्रम तय भएको उनले जनाए ।

बैठकको कार्यसूचीलगायतलाई पूर्णता दिन आज बिहान माओवादीको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

माओवादीको केन्द्रीय समिति बैठक ११ महिनापछि बस्न लागेको हो । बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट, सङ्गठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विधान तथा विशेष महाधिवेशन, सरकार र सदनलगायत विषयमा छलफल हुने जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.