बजेटबारे ओलीको कटाक्ष- अजिंगरजस्तो छ, डम्म सुतेको छ

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
बजेटबारे ओलीको कटाक्ष- अजिंगरजस्तो छ, डम्म सुतेको छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको दाबी गरेका छन् ।

समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको भनाइ थियो । प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै मंगलबार उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दाबी गरे ।

बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोसेराको जस्तो भएको उल्लेख गर्दै उनले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने जनाए । त्यस अवसरमा ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्नभन्दा पनि उपलब्धिमा देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिए । ‘हामीले निर्माण गरेको संविधानले प्राप्त गर्ने लक्ष्य राखेको समाजवाद उन्मुख अर्थ व्यवस्थाको मार्गबाट बजेट विचलित भएको छ । कसले मन परायो, कसले मन पराएन ? किन भयो, भएन ? संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवादउन्मुख अर्थतन्त्र भनेको पुँजीउन्मुख होइन, मानवउन्मुख हो । घरानाउन्मुख होइन, समाजउन्मुख हो । ठूलालाई पैसा कमाउने अवसरमाथि अवसर थप्ने होइन । आमजनताको जीवनस्तर माथि उठाउने हो । उत्पादन, उत्पादकत्व वृद्धि गर्ने नाममा पुँजीको केन्द्रीकरण होइन । वितरणमा न्यायोचिततासहितको बजेट हो । त्यसमा विमुख छ । त्यसलाई छोडेको छ । नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति बजेट विल्कुल विमुख छ । यसले अकर्मण्यता र शिथिलताले ग्रसित छ । यसमा भिजनहीनता छ । यसले देख्दैन परसम्म । चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोसेराको जस्तो छ बजेटको । यसले देख्दैन, भिजन छैन । पोलिसी छैन । त्यसकारण यसमा अकर्मण्यता छ । र, शिथिलता छ । परिणाममा हेरियोस् म केही भन्दिनँ,’ ओलीले भने, ‘माननीयजीहरुले पछि बहस गर्ने क्रममा जवाफ त मलाई दिन सक्नुहुन्छ । परिणामबाट, उपलब्धिबाट जवाफ दिनुस् म सत्तापक्षलाई भन्न चाहन्छु ।’

अध्यक्ष ओलीले बजेटलाई सुतेर बसेको अजिंगरसँग तुलनासमेत गरे । सुतेर बसेको अजिंगरले जस्तो बजेटमा भन्सारबाट आउँला र खाउँला भन्ने आशामात्रै रहेको ओलीको भनाइ छ । ‘बजेट उदासीन छ । किन भनेको भने अहिलेको सरकार आय स्रोत कसरी बढाउने ? त्यसमा प्रयास अगाडि बढाउने, प्रयासमा तीव्रता दिने, प्रयासलाई योजनाबद्ध ढंगले अघि बढाउने त्यस कुरामा ध्यान छैन,’ उनले भने, ‘अजिंगरजस्तो छ । डम्म सुतेको छ । अगाडि केही आयो भने तानेर खाउला भनेर बसेको छ । भन्सार राखिदिएको छ । त्यहाँबाट रकम असुल भयो भने, एयरपोर्टबाट भयो भने, भैरहवाबाट भयो भने, उताबाट भयो भने आएको बजेट भन्सारमा थापेको छ नि त्यस टोकरीमा आइलाग्यो भने स्वाप्प पार्ने । एउटा नीतिमा भनिएको छ ।’

एमाले अध्यक्ष ओलीले भने- ‘बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौं’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.