अर्थमन्त्रीको दाबी- इमानदारितामा रौं पनि हल्लिएको छैन, बिचौलियालाई छेउछाउमै आउन दिएको छैन

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
अर्थमन्त्रीको दाबी- इमानदारितामा रौं पनि हल्लिएको छैन, बिचौलियालाई छेउछाउमै आउन दिएको छैन

काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले बजेट निर्माणमा इमानदारिताका साथ काम गरेको दाबी गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमाका क्रममा अनधिकृत व्यक्ति संलग्न रहेकाबारे प्रमुख प्रतिपक्षी एमालेलगायतका दलले जवाफ मागेपछि अर्थमन्त्री महतले कुनै चलखेल नभएको दाबी गरेका हुन् ।

उनले निजी स्वार्थ भएकाहरुले चलखेल गर्न नपाएकै कारण आफ्नो पछि लागेको आरोप पनि लगाए । प्रतिनिधिसभाको आजको बैठकमा जवाफ दिँदै उनले भने, ‘इमान्दारितामा एक इन्च, एक रौँ पनि कहीँकतै हल्लिएको छैन । त्यही भएर निजी स्वार्थ भएकाहरु चाहिँ पछि लागेका छन् । कुरो यही हो । यो भन्दा अर्को कुरै छैन ।’

मन्त्री महतले करका दर हेरफेरमा बिचौलियाको भूमिका रहेको भन्ने आरोपको खण्डन गर्दै आफूले बिचौलियालाई छेउछाउमा समेत पर्न नदिएको जिकिर गरे ।

‘बजेट निर्माणमा चलखेल भयो कि भन्ने कुरा आएको छ । बिचौलियाको कुराहरु आएको छ, उनले भने, ‘बिचौलियालाई त मैले छेउछाउमै पनि आउन दिएको छैन।’

अर्थमन्त्री महतले इमान्दार भएर काम गर्न कठिन भएको उल्लेख गर्दै इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्ने गरेको गुनासो गरे । ‘इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ । इमान्दार हुँदा खेरी प्रश्नमाथि प्रश्न उठ्दो रहेछ,’ उनले भने, ‘एउटा पत्रिकाले एउटा समाचार पटक–पटक दोहो¥याउँछ । त्यसैलाई हामी सत्य ठान्दछौँ । वास्तविकता के हो भने पारदर्शी ढंगबाट, कुनै पनि प्रभावबाट मुक्त भएर मैले काम गरेको छु ।’

‘हामी सबै असत्य ? हामी चाहिँ झुटा, नराम्रो काम गर्न बस्या ? यो त हुन सक्दैन ? कसैले लेखिदियो उचाहिँ सत्य भयो ?’ उनले प्रश्न गरे ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिका रुपमा संलग्न रहेको भनिएका पूर्व नायब सुब्बा (नासु) रामकृष्ण श्रेष्ठले तथांक इन्ट्री गर्ने कार्यमा सहयोगीका रुपमा मात्रै काम गरेको अर्थमन्त्री महतले स्पष्ट पारे ।

‘दुई महिनाको समयमा अर्को मान्छे तयार गर्ने समय नभएकाले दक्ष, अनुभवी र इमान्दारिताका कारण उनलाई काममा लगाइएको हो,’ मन्त्री महतले भने, ‘उनले सिस्टमअनुसार काम गरेका छन् । उनलाई यो काम गर भनेर दिएको निर्देशनभन्दा अरु काम नगरेको संसदलाई विश्वास दिलाउन चाहन्छु ।’ 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.