करको दर हेरफेरलाई जसपाले गम्भीरतापूर्वक लिएको छ : प्रदीप यादव

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
करको दर हेरफेरलाई जसपाले गम्भीरतापूर्वक लिएको छ : प्रदीप यादव

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई सरकारले संलग्न गराएको भन्ने विषयलाई आफ्नो पार्टीले गम्भीरतापूर्वक लिएको टिप्पणी गरेका छन् ।

संघीय संसद् भवन परिसरमा मंगलबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यो विषयबारे अर्थमन्त्री प्रकाशशरण महतले संसद्‌मा जवाफ दिनैपर्ने धारणा गरे । उनले अर्थमन्त्री महतले बजेटको छलफलमाथिको छलफलका क्रम सकिएपछि जवाफ दिनुहुने र त्यसमा सो विषयमा दिएको जवाफ चित्त नबुझे आफ्नो पार्टी विरोधमा उभिने स्पष्ट पारे ।

‘सञ्चारमाध्यमबाट हामीले यो कुराहरु हेरेका छौं । त्यो विषयमा हामी गम्भीर छौं । हाम्रो पार्टी गम्भीर छ । त्यो विषयमा सत्यतथ्य के हो ? माननीय अर्थमन्त्रीजीले यसको जवाफ दिनैपर्छ । यो अहिले बहसको विषय पनि भएको छ,’ उनले भने, ‘हिजो माननीयजीहरुले यो कुरा उठाउनु नै भएको छ । अब माननीय अर्थमन्त्रीजीले के जवाफ दिनुहुन्छ । पर्सि उहाँको जवाफ आउँछ । पर्सि अर्थमन्त्रीजीको जवाफ आइहाल्छ । सत्यतथ्य उहाँले बताएपछि हामी अघि बढ्छौं । हामी सरकारले गरेको राम्रो कामलाई राम्रो भन्छौं, नराम्रो कामलाई नराम्रो भन्छौं ।’

प्रमुख सचेतक यादवले आफ्नो पार्टीले सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने चेतावनीसमेत दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.