काठमाडौं । प्रतिनिधिसभाको ११ बजे बस्ने भनिएको बैठक अझै सुरु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी नेकपा एमाले, रास्वपा, राप्रपालगायत दलहरुले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको भन्दै सदनमा अवरोध पुर्याउने तयारी गरिरहेको अवस्थामा बैठक सुरु हुन नसकेको हो ।
उता राष्ट्रियसभाको बैठक भने सूचना टाँस गरी स्थगित गरिएको छ । आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएको उल्लेख गर्दै संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुधबार बिहान ११ बजेर ११ मिनेटका लागि निर्धारण गरिएको जनाएका छन् ।
राष्ट्रियसभाको बैठक आज (मंगलबार) ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो । आजको बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्त्वको विषयमा बोल्ने सम्भावित कार्यसूची थियो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक विषयमा सदनलाई सम्बोधन गर्ने कार्यक्रम थियो । प्रधानमन्त्री दाहाल अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा सहभागी हुन आज खप्तड गएका छन् । प्रधानमन्त्री दाहाल खप्तड गएपछि आजको बैठक स्थगित भएको संसद सचिवालय स्रोतले बतायो ।
आज (मंगलबार) को बैठकमा दुवै सदनमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट माथि छलफल हुने कार्यसूची थियो ।
सरकारले यही जेठ १५ गते संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल आज पनि जारी रहने संसद सचिवालयका महासचिव गौतमले जानकारी दिए । बजेटमाथिको छलफल हिजो (सोमबार) देखि सुरु भएको हो ।
बजेट प्रस्तुतपछि प्रधानमन्त्री पुष्पकमल दाहाल जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा गएकाले आइतबारदेखि छलफल सुरु गर्ने कार्यसूची थियो । तर प्रधानमन्त्रीको भारत भ्रमणको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेलगायतले आइतबारको बैठक अवरुद्ध गरेको थियो ।
नेपाली भूमि कालापानीलाई बंगलादेश जाने मार्गसँग साटफेर गर्ने विषयमा प्रतिपक्षी दलले प्रधानमन्त्री दाहालको जवाफ माग गरेपछि बजेटमाथिको छलफल प्रभावित भएको थियो । यस विषयमा हिजो (सोमबार) को बैठकमा प्रधानमन्त्रीले सदनमा जवाफ दिएपछि बजेटमाथिको छलफल जारी रहने भएको हो ।