नक्कली भुटानी शरणार्थी प्रकरण विषयान्तर गर्न खोजिँदै

जेष्ठ १०, २०८० |प्रकाश बम|दीपक आचार्य
नक्कली भुटानी शरणार्थी प्रकरण विषयान्तर गर्न खोजिँदै

काठमाडौं । नक्कली भुटानी प्रकरणमा राजनीतिक व्यक्तिको संलग्नता देखिएपछि सुरुमा दलका नेताहरु बचाउमा उत्रिए । गिरोहका सदस्यहरुले भने बयानका क्रममा पूर्वप्रधानमन्त्रीको सचिवालयदेखि संवैधानिक निकायका प्रमुखसम्मको नाम लिए । तर, आफ्नै पार्टीका जिम्मेवार नेता पक्राउ पर्दा र कतिपयमाथि आरोप लागिरहँदा पनि दलहरुभित्र प्रश्न उठ्न सकेको छैन ।

नक्कली शरणार्थी बनाउने गिरोहसँग पार्टीका सचिव टोपबहादुर रायमाझीको आर्थिक सम्बन्ध सार्वजनिक भएपछि अध्यक्ष ओली बचाउमा उत्रिए । त्यति मात्रै होइन, संसद्‌मा विशेष खुलासा गर्छु भनेका उनले सदनमा पुगेर निर्दोष फसाउने खेल भइरहेको तर्क गरे । अहिले आरोपीले ओली प्रधानमन्त्री भएको समयमा उनकै सचिवालयका सदस्यलाई रकम बुझाएको दाबी गरेका छन् ।

गिरोहका पक्राउ परेका व्यक्तिहरुको बयान सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरंग थपिएको छ । तर एमाले वृत्तले भने अनुसन्धान आफू लक्षित भएको तर्क गर्न खोजेको देखिन्छ । उता नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका विषयमा सभापति देउवाले नबोलेरै टार्ने नीति लिएको देखिन्छ । पदाधिकारी तहमा सामान्य छलफल गरेका देउवाले केन्द्रीय समितिलगायत छलफलका फोरम नै बन्द गरिदिएका छन् । भेट्न जानेस‍ँग पनि उनले खाणको चिन्ता नलिन भन्ने गरेका छन् ।

भ्रष्टाचार तथा अनियिमतताका विषयमा दलहरुको भूमिका शंकास्पद देखिएको पहिलोपटक भने होइन । यसअघि नै चर्चामा आएका क्यान्टोनमेन्ट, यति, ओम्नीलगायत प्रकरणमा दलहरुले आन्तरिक छलफलसम्म गरेनन् । जसरी हुन्छ टार्ने नीति लिए ।

औपचारिक फोरमबाट निर्णय नगर्ने तर बाहिर सुशासनको चर्को नारा दिने राजनीतिक परिपाटी नै बनेको छ । दलहरुको यस्तै प्रवृत्तिबाट आजित आमनागरिकले अब भने आवाज उठाउन थालेका छन् । सदनदेखि सडकसम्म कारबाहीको माग उठिरहँदा पनि दलहरुले आधिकारिक रुपमा कारबाहीको प्रतिबद्धता व्यक्त गर्नसम्म सकिरहेका छैनन्, जसबाट व्यवस्थालाई नै कमजोर बनाउने जोखिम बढेको छ ।

राजनीतिक नेतृत्वको नियत सही नहुने हो भने सुशासन कायम हुन सक्दैन । त्यसका लागि सबैभन्दा पहिले दलहरुमा आन्तरिक अनुशासन कायम हुनुपर्छ । तर, दलहरुमा यस्तो इच्छाशक्ति पटक्कै देखिँदैन ।

नागरिकमाथिको ठगी मात्रै नभई देशकै बेइज्जत गरेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई समेत अहिले राजनीतिक रङ दिएर विषयान्तर गर्न खोजेको देखिन्छ । यो प्रकरणको छानबिन र कारबाही निष्कर्षमा पुग्न नसके यसले अन्तर्राष्ट्रिय रुपमै नेपालको प्रतिष्ठामाथि प्रश्न उठ्नेछ । 

थप...

शरणार्थी प्रकरण : ‘अमेरिकाको चासो स्वाभाविक, एफबीआईले पनि हेरेकै होला’
नक्कली शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्‍याउँछौँ : गृहमन्त्री श्रेष्ठ
नक्कली शरणार्थी प्रकरण : सचिव पाण्डेले नै १ हजार १७ जनाको झुटो विवरण मन्त्रालयमा राखेको खुलासा


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।