काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेतामा चयन गरेको छ ।
सोमबार काठमाडौंमा बसेको पार्टी संसदीय दलको बैठकले सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । दलको नेतामा पार्टी सभापति लामिछानेलाई सर्वसम्मतिले चयन गरिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
त्यसैगरी संसदीय दलको बैठकले पार्टीको सचेतक निशा डाँगीलाई बनाउने निर्णय पनि गरेको छ । ‘पार्टी सभापतिलाई संसदीय दलको नेता चयन गर्यौं । अरु प्राविधिक रुपमा काम गर्न संसदीय काम-कारबाहीलाई सजिलो बनाउन केही समितिहरु बनायौं,’ प्रमुख सचेतक परियारले भने, ‘जस्तो विधेयक अध्ययन समिति, समसामयिक समिति, प्रमुख सचेतकका रुपमा म कार्यरत छु । सचेतक हुनुहुन्न थियो । माननीय निशा डाँगीलाई हामीले सचेतक बनाएका छौं । हामीले निर्वाचनको पनि समीक्षा गर्यौं ।’
बैठकले पार्टीको संसदीय काम-कारबाहीलाई प्रभावकारी बनाउन विधेयक अध्ययन समिति, समसामयिकलगायत समितिहरु पनि गठन गरेको छ ।
लामिछाने पदमुक्त भए पछि पार्टीले उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । उपनिर्वाचनबाट लामिछाने जितेर आएपछि अर्यालले अस्ति (शनिबार) राजीनामा दिएका थिए । चितवन २ बाट लामिछाने र तनहुँ १ मा स्वर्णिम वाग्ले निर्वाचित भएसँगै रास्वपाको सांसदको संख्या २१ पुगेको छ ।
यो पनि...
रास्वपा संसदीय दलको नेतामा रवि लामिछानेलाई चयन गर्ने केन्द्रीय समितिको निर्णय