काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपालको संविधानको धारा १०० को (२) बमोजिम नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतको प्रस्तावको पक्षमा रहने जनाए । उनले आफ्ना सांसदहरुलाई पनि पार्टीको संसदीय दलको निर्णयको पालना गर्न ह्वीप जारी गर्ने जानकारी दिए । प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने स्पष्ट पारे ।
‘कार्यसम्पादन समितिको निर्णयलाई मध्यनजर गरी नेपालको संविधानको धारा १०० को (२) बमोजिम सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालजीले भोलि विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा रहेको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्नेछ,’ उनले भने, ‘तदनुरुप कांग्रेस संसदीय दलका सांसदहरुलाई निर्देशन दिन्छ । त्यसपछि मात्रै प्रधानमन्त्रीको दाहाल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सरकारमा हामी सहभागी हुन्छौँ ।’
यसअघि आजै बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको थियो । कार्यसम्पादन समितिको निर्णयलाई संसदीय दल कार्यसमिति बैठकले अनुमोदन गरेको हो ।
बैठकले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई ज्ञापनका साथै सफल कार्यकालको शुभकामना ज्ञापन गर्ने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिमले पाएको सफलतालाई मध्यनजर गरी धन्यवाद ज्ञापन गरेको छ ।