भारत भ्रमणको मिति पर्खदै प्रधानमन्त्री दाहाल

चैत्र ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
भारत भ्रमणको मिति पर्खदै प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैतभित्रै भारत भ्रमणमा जाने तयारी गरेका छन् । औपचारिक निमन्त्रण आएलगत्तै भारतमा भ्रमणमा जाने तयारी प्रधानमन्त्री कार्यालयले गरेको हो ।

दाहाललाई प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदा भारत भ्रमणको  निम्तो दिएका थिए । त्यसैका आधारमा दाहालले भ्रमणको तयारी गरेका हुन् । तर अहिलेसम्म भारतबाट औपचारिक मिति प्रस्ताव आएको छैन । उनले आफ्नो पहिलो भ्रमण भारतबाट होस् भन्ने चाहेका छन् । भ्रमणका क्रममा भारतसँगको सम्बन्ध सुदृढ बनाउने चाहना प्रधानमन्त्री दाहालको छ । त्यस्तै पोखरा तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहज हवाई मार्गको माग गर्ने, विद्युत् व्यापार तथा व्यापार घाटा न्यूनीकरण गराउने विषयलाई पनि प्रधानमन्त्रीले भ्रमणको एजेन्डा बनाउने तयारी गरेका छन् ।

त्यसो त प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्नुअघि मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने छ । उनले सोमबार विश्वासको मत लिएपछि तत्काल मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । चैत १० गतेभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा दाहाल जुटेका हुन् । तर संसद्‍मा प्रतिपक्षी दल को भन्ने विवाद कायमै रहेकाले प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुअघि कांग्रेसलाई सरकारमा सहभागी गराउने प्रयाससमेत थालेका छन् ।

प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.