अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको छ : सामन्था

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको छ : सामन्था

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको धारणा व्यक्त गरेकी छन् ।

दुईदिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएकी उनले बुधबार यस्तो बताएकी हुन् । नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको उनको भनाइ छ ।

उनले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको दाबी गरिन् । नेपालमा अमेरिकाले गरेको लगानीलाई भूराजनीतिक सम्बन्धका रुपमा नबुझ्नसमेत उनले आग्रह गरिन् । अमेरिकाले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको पनि उनको भनाइ छ । उनले नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको जानकारी दिइन् ।

‘भूराजनीति परिवर्तन भई नै रहन्छ । शीतयुद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो । तर हामी काममा केन्द्रित हुनेछौं, नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला । हामी साथमा काम गर्नेर्छौं, अमेरिकाले नेपालमा गर्ने लगानी कुनै भूराजनीतिक आयामको उत्पादन हो भनेर हामीले लिएका छैनौं । नेपालसँग गरेको प्रतिबद्धताको उत्पादन हो,’ उनले भनिन् ।

प्रमुख सामन्थाले सञ्चारकर्मीहरुले सोधेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘प्रजातन्त्र सम्मेलन’ मा नेपालका प्रधानमन्त्रीलाई बोलाइएको हो भन्ने प्रश्नमा नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिबद्धताहरुलाई व्यक्त गर्न पाउने अवसरका रुपमा हेरेको जनाइन् । उनले सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि निमन्त्रणा गरेको जानकारी दिइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.