राष्ट्रिय सभाले आज उपाध्यक्ष पाउँदै, उर्मिला अर्याल निर्विरोध चयन हुने

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय सभाले आज उपाध्यक्ष पाउँदै, उर्मिला अर्याल निर्विरोध चयन हुने

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको लागि आज निर्वाचन हुँदैछ । उपाध्यक्ष चयनका लागि आज मध्याह्न १२ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रको सांसद उर्मिला अर्यालको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध चयन हुनेछिन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेसमेत उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको हो ।

अर्यालको प्रस्तावकमा राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ छन् भने समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन्।

आजको बैठकको सम्भावित कार्यसूचीअनुसार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका श्रेष्ठले ‘अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै उक्त प्रस्तावको सांसद देवेन्द्र पौडेल र खिमलाल देवकोटाले समर्थन गर्नेछन् ।

त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निवार्चित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्याकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो ।

राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५ सांसद छन् । यस्तै, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । एक जना स्वतन्त्र र तीन जना मनोनित सांसद छन् । रिक्त रहेका एक सदस्यका लागि यही माघ २५ गते निर्वाचन हुन लागेको छ ।

को हुन् अर्याल ?

माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी अर्यालले पूर्वस्थानीय विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेकी छन् । विसं २०१३ असोज २० गते बलराम अर्याल र जगतमायाको सुपुत्रीका रुपमा पर्सामा जन्मिएकी हुन् ।

तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित भएकी हुन् ।

समाजशास्त्रमा स्नातकोत्तर गरेकी अर्याल विद्यावारीधीको शोधार्थी हुन् । अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्षकोसमेत जिम्मेवारी सम्हालिसकेकी अर्यालले महिला विकास अधिकृतको रुपमा पनि सेवा गरेकी छन् ।

सेभ द चिल्ड्रेनलगायतका संस्थामासमेत आफ्नो जिम्मेवारी सम्हालेकी अर्यालले तटस्थ र निष्पक्ष भएर संविधान, कानूनले दिए अनुसारको भूमिका निर्वाह गर्ने बताएकी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.