संकटमा सुदूरपश्चिम सरकार

माघ २२, २०७९ |टेकराज जोशी
संकटमा सुदूरपश्चिम सरकार

कैलाली । विश्वासको मत लिने मिति नजिकिँदै गर्दा सुदूरपश्चिमका मुख्यमन्त्रीसहित गठवन्धनका नेताहरु नागरिक उन्मुक्ति पार्टी फकाउने अन्तिम कसरतमा लागेका छन् ।

माघ २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने भएपछि मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, माओवादी संसदीय दलका नेता तथा विनाविभागीय मन्त्री खगराज भट्टसहितका नेताहरु रेशम चौधरीलाई फकाउन लागेका हुन् । नागरिक उन्मुक्तिले रावल नेतृत्वको सरकारलाई समर्थन गरे पनि रेशमको रिहा नभएसम्म विश्वासको मत नदिने अडान राखेको नागरिक उन्मुक्ति त्यसैमा अर्का सांसद अरुण चौधरी पक्राउ परेपछि झनै रुष्ट छ ।

सत्तारुढ दलकै एक सांसदले उन्मुक्ति पार्टी विश्वासको मत दिन अहिलेसम्म सहमत नभएको तर काठमाडौंमा छलफल जारी भइरहेको बताए । नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले विश्वासको मत दिने/नदिनेबारे अहिलेसम्म पार्टी निष्कर्षमा नपुगेको जानकारी दिए । नागरिक उन्मुक्तिसँग सहमति हुन नसक्दा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री नियुक्त भएको तीन साता बित्दा पनि विश्वासको मत लिन सकेका छैनन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्तिका सात सांसद छन् । यो संख्या प्रदेशको सरकार निर्माणदेखि संसद्का हरेक प्रक्रियामा निर्णायक छ । विश्वासको मत लिन नसक्दा सुदूरपश्चिम सरकार विस्तारसमेत हुन सकेको छैन । मुख्यमन्त्री रावलले माओवादी केन्द्रबाट खगराज भट्ट र एमालेबाट सन्तोषकुमारी शर्मालाई मन्त्री बनाएर विनाविभागीय हैसियतमै राखेका छन् । संविधानतः मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।