उपसभामुख छनोट : मनोनयन आज, निर्वाचन भोलि

माघ ६, २०७९ |कान्तिपुर टीभी संवाददाता
उपसभामुख छनोट : मनोनयन आज, निर्वाचन भोलि

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आज (शुक्रबार) बाट हुने भएको छ । संघीय संसद् सचिवालयद्वारा बिहीबार उपसभामुख निर्वाचनका लागि जारी गरिएको तालिकाअनुसार शुक्रबार मनोनयन दर्ता हुँदै छ ।

मनोनयन दर्ताका लागि दिउँसो १ देखि ४ बजेसम्मको समय छुट्याएको सचिवालयले जनाएको छ । मतदान भोलि (शनिबार) दिउँसो १ बजेबाट हुनेछ । यसका लागि सचिवालयले सबै तयारी पूरा भएको जनाएको छ ।

सभामुखमा बिहीबार नेकपा एमालेका तर्फबाट देवराज घिमिरे निर्वाचित भइसकेका छन् । उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिने सत्ता गठबन्धन दलबीच समझदारी भएको छ । जसअनुरुप रास्वपाले उम्मेदवारी उठाउनेछ । रास्वपाले सांसद सोबिता गौतमलाई उठाउने चर्चा देखिए पनि अहिलेसम्म आधिकारिक निर्णय भने गरिसकेको छैन ।

आज (शुक्रबार) रास्वपाको संसदीय दलको बैठक बस्ने र बैठकबाटै उम्मेदवार टुंग्याउने तयारी छ । अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने पनि संसदीय दलको बैठकबाटै उपसभामुखको उम्मेदवार टुंग्याउने बताउँछन् ।

बिहीबार सभामुखमा नेपाली कांग्रेसले उम्मेदवार उठाएको थियो । शुक्रबार पनि कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । तर आधिकारिक उम्मेदवार भने तय गरिसकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement