६ वटा प्रदेशसभामा दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु

पुस १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
६ वटा प्रदेशसभामा दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु

काठमाडौं । ६ वटा प्रदेशमा प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु भएको छ ।

मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश अधिवेशन सुरु भएको हो । मधेस प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयन गर्न मधेस प्रदेशलाई अझ बढी चुनौती रहेको बताएका छन् ।

यसैबीच प्रदेशसभाको सभामुख चयनका लागि मधेसमा पुस २९ गते मनोनयन दर्ता र माघ २ गते सभामा निर्णयार्थ प्रस्तुत गर्ने तय भएको छ ।

यसैगरी वाग्मती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पनि सोमबार सुरु भएको छ । प्रदेशसभा भवनमा प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुगांनाको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा प्रदेशसभाका सातवटै दलका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । प्रदेशसभाको दोस्रो बैठक पुस २९ गते शुक्रबार बिहान ११ बजे बस्नेछ । यही बैठकले सभामुख र उपसभामुख चयन गर्ने भएको छ ।

गण्डकीमा पनि सोमबारदेखि प्रदेशसभाको अधिवेशन सुरु भएको छ । बैठकमा दुई अध्यादेश टेबल भएका छन् । गण्डकी सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश संसद्‌मा पेस भएका हुन् । प्रदेशसभाको अर्को बैठक पुस २९ गते बस्ने तय भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आहृवान गरेअनुसार लुम्बिनीमा पनि सोमबार पहिलो बैठक बसेको छ। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गरेका छन् । सोमबारै बसैको लुम्बिनी प्रदेशसभाको दोस्रो बैठकले प्रदेशसभा नियमावली २०७९पारित गरेको छ । प्रदेशसभाको अबको बैठक माघ ३ गते बस्ने छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पनि सोमबारबाट सुरु भएको छ । पहिलो बैठकले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न हिक्मतबहादुर विष्ट, भीमप्रकाश शर्मा र जितबहादुर मल्ललाई नियुक्त गरेको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयन गर्न आगामी २८ गते निर्वाचन हुने भएको छ । प्रदेशसभाको सोमबार बसेको पहिलो बैठकपछि सचिवालयले सभामुख चयनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । प्रदेशसभा सञ्चालन ऐनअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाबमोजिम प्रक्रिया अघि बढाइएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताएका छन् ।

प्रदेश १ को पहिलो बैठक भने आइतबार नै सुरु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.