४ पूर्वप्रधानमन्त्री निर्वाचित, एक हारे, दुई ‘रिङआउट’

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
४ पूर्वप्रधानमन्त्री निर्वाचित, एक हारे, दुई ‘रिङआउट’

काठमाडौं । नेपालमा यतिबेला ६ जना पूर्वप्रधानमन्त्री र एकजना प्रधानमन्त्री छन् । यीमध्ये मंसिर ४ को निर्वाचनमा तीनजना पूर्वप्रधानमन्त्री र बहालवाला प्रधानमन्त्री जनताबाट अनुमोदित बनेका छन् । एकजना पूर्वप्रधानमन्त्रीले चुनाव हारेका छन् भने दुई पूर्वप्रधानमन्त्रीले चुनावै लडेनन् ।

डडेलधुराबाट कांग्रेसका सभापति एवं बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव जिते । त्यस्तै, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल पनि निर्वाचित भएका हुन् ।

नेपालमा जस्तो भूतपूर्व प्रधानमन्त्रीहरु राजनीतिमा सक्रिय रहने व्यवस्था अन्य मुलुकमा नहुने नेपाली कांग्रेसका महामन्त्री गगन थापा बताउँछन् । नेपालको संसद् भूतपूर्व प्रधानमन्त्रीको क्लब जस्तो भएको उनको भनाइ छ ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायर साइड’मा उनले नेपालको जस्तो मिश्रित मोडलको व्यवस्था भएको अन्य मुलुकमा समेत यति धेरै पूर्वप्रधानमन्त्री राजनीतिमा सक्रिय नहुने बताएका थिए ।

‘हाम्रो संसद् भूतपूर्व प्रधानमन्त्रीको क्लब जस्तो भयो । नेपालका प्रायः दलका शीर्ष नेता भूतपूर्व प्रधानमन्त्री छन्,’ महामन्त्री थापाको भनाइ थियो, ‘मेरो अध्ययनअनुसार यति धेरै भूतपूर्व प्रधानमन्त्री राजनीतिमा सक्रिय रहेको एउटा पनि व्यवस्था देख्दिनँ । यस्तो न कुनै राष्ट्रपतीय प्रणालीमा हुन्छ, न ‘वेस्ट मिनिस्टर’ प्रणालीमा । हाम्रो जस्तो मिश्रित मोडलको प्रणालीमा पनि यस्तो हुँदैन ।’

पूर्वप्रधानमन्त्रीको जत्था चुनावी मैदानमा

निर्वाचनका आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार कांग्रेसका सभापति देउवा २५ हजार ५३४ मतका साथ विजयी भएका हुन् । उनले निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतले पराजित गरेका हुन् ।

प्रधानमन्त्री देउवा योपटक डडेलधुराबाट सातौंपटक निर्वाचित भएका हुन् । २०४८ सालदेखि उनी यसक्षेत्रबाट निरन्तर निर्वाचित हुँदै आएका छन् । उनले पाँचौंपटक प्रधानमन्त्रीको जिम्मेवारी समल्हालिरहेका छन् ।

त्यस्तै, एमाले अध्यक्ष ओली ५२ हजार ३१९ मतका साथ निर्वाचित भए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारी २३ हजार ७४३ मतका साथ उपविजेता बने । ओली र अधिकारीबीच २८ हजार ५७६ मतको अन्तर छ । अध्यक्ष ओली दुईपटक देशको प्रधानमन्त्री बनेका छन् ।

माओवादीका दाहालले निकटतम् प्रतिपर्धीलाई दोब्बरभन्दा बढी मतले पराजित गरेका छन् । दाहाल २६ हजार १०३ मतका साथ निर्वाचत भए । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी १२ हजार ६३७ मतका साथ पछि परे । अध्यक्ष दाहाल दुईपटक प्रधानमन्त्री बनिसकेका छन् ।

यसैगरी, एकीकृत समाजवादीका नेपाल पनि ठूलै मतान्तरले विजयी भएका हुन् । उनी ३३ हजार ५२२ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अजयकुमार गुप्ता २६ हजार ९२२ मतका साथ पछि परे । उनीहरूबीच ६ हजार ६०० मतान्तर छ । अध्यक्ष नेपाल पनि प्रधानमन्त्री बनिसकेका छन् ।

तीन पूर्वप्रधानमन्त्रीको यात्रामा ब्रेक

झलनाथ खनाल : नेकपा एमाले परित्याग गरी पहिलोपटक नेकपा एकीकृत समाजवादीबाट चुनाव लडेका खनाल पराजित भएका छन् । उनी नेकपा एमालेका महेश बस्नेतसँग तीन हजार ६५४ मतको अन्तरले पारजित भएका हुन् । एमालेका बस्नेत २५ हजार ६९९ मतमा साथ निर्वाचित हुँदा खनाल २३ हजार ४५ मतका साथ पराजित भएका हुन् ।

पूर्वप्रधानमन्त्री खनाल यस क्षेत्रबाट २०४८, २०५१, २०६४, २०७० र २०७४ मा निर्वाचित भएका थिए । नेकपा एमालेबाट उनी २०७६ माघ २० गते प्रधानमन्त्री बनेका थिए । उनले ६ महिना प्रधानमन्त्रीको जिम्मेवार सम्हालेका हुन् ।

डा. बाबुराम भट्टराई : नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई यो निर्वाचनमा सहभागी भएनन् । सोहीकारण उनी योपटक प्रतिनिधिसभामा देखिने छैनन् । यो निर्वाचनमा उनले आफ्नो क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उठाए ।

अध्यक्ष भट्टराईले उम्मेदवारी नदिने विषय चर्चाको विषय बनेको थियो । यसबारेमा उनी भन्छन्, ‘पद भनेको जिम्मेवारी हो । यो आवश्यक पर्दा मात्र लिनुपर्छ ।’ माओवादी केन्द्रबाट प्रधानमन्त्री बनेका भट्टराईले २०६८ भदौ ११ देखि २०६९ फागुन ३० सम्म जिम्मेवारी सम्हालेका थिए ।

लोकेन्द्रबहादुर चन्द : राप्रपाका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भने राजनीतिमा सक्रियता देखाउन छाडेका छन् । उनले यसपालिको निर्वाचनमा पनि भाग लिएनन् ।

गगनको विद्रोह

संसदमा पूर्वप्रधानमन्त्रीको उपस्थिति बारे कुनै दलका नेता खुलेर बोलेका छैनन् । यसबारेमा कांग्रेसका महामन्त्री थापाले आवाज बुलन्द गरेका छन् ।

संसद्मा पूर्वप्रधानमन्त्रीको क्लब नै पुग्नु ठूलो रोग भएको उनी बताउँछन् । मुलुकले यसबाट छुटकारा पाउनुपर्ने उनले बताए । यो रोगको मुक्तिका लागि कसैलाई दोष नदिई आफ्नै दलभित्र लड्नुपर्नेमा उनी स्पष्ट छन् ।

‘हामीले कसैलाई दोष दिएर हुँदैन । संसदमा भूतपूर्व प्रधानमन्त्री उपस्थिति नै मुलुकको सबैभन्दा ठूलो रोग हो । यसबाट मुक्ति चाहिन्छ ।’ महामन्त्री थापाले भने, ‘यसका दलभित्र लड्नुपर्छ । सोही कारण कांग्रेसको संसदीय दलको नेता बन्न मैले तेस्रोपटक सांसदमा दाबी गरेको हुँ ।’

काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि उनी अब प्रधानमन्त्रीको दौडमा छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.