सातै प्रदेश अस्थिर राजनीतिको दुष्चक्रमा फस्न सक्ने सम्भावना

मंसिर ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
सातै प्रदेश अस्थिर राजनीतिको दुष्चक्रमा फस्न सक्ने सम्भावना

काठमाडौं । प्रदेशसभाको हालै सम्पन्न निर्वाचनमा सातै प्रदेशमा कुनै पनि दलले सरकार बनाउन स्पष्ट जनादेश प्राप्त गरेनन् । यसअनुसार अब दलहरू एक आपसमा मिलेर अगाडि बढ्नुको विकल्प छैन । तर सरकार ढाल्ने र बनाउने खेलमा मात्र लाग्ने राजनीतिक दलहरूको विगतको प्रवृत्तिले फेरि पनि सात वटै प्रदेशमा स्थिर सरकार गठन र सञ्चालनका सम्भावना क्षीण भएका छन् ।

प्रदेश १ मा प्रत्यक्षतर्फको ५६ सिटमध्ये एमालेले २५, नेपाली कांग्रेसले १४, माओवादी केन्द्रले ८ र एकीकृत समाजवादीले २ स्थान जितेका छन् । बागमतीमा कांग्रेसले २४, एमालेले १२, माओवादी केन्द्रले १४ र राप्रपाले ७ सिट जितेका छन् । 

गण्डकीमा पनि कसैको बहुमत छैन । कांग्रेस १६, एमाले १२, माओवादी केन्द्र ५ र अन्य १ स्थानमा विजयी भएका छन् । यस्तो अवस्थामा दलहरूले मिलीजुली सरकार गठन गरिहाले पनि टिकाउ हुने सम्भावना भने देखिँदैन । सरकार गठन गर्ने र ढाल्ने खेलमा लाग्ने नेताहरूको प्रवृत्तिले विगतकै अस्थिरता दोहोरिने विश्लेषण गर्न थालिएको छ ।

लुम्बिनीको चुनावी नतिजाले पनि अस्थिर सरकारको सङ्केत गरेको छ । यस प्रदेशमा १८ सिट मात्र जितेको एमालेले एक्लै सरकार बनाउन सक्ने सम्भावना छैन । १७ सिट जितेको कांग्रेस र ५ सिट जितेको माओवादी केन्द्र एमालेसँग मिल्ने कुनै सम्भावना छैन । 

कर्णालीमा कांग्रेस र माओवादी केन्द्रले ९-९ स्थानमा जित हात पारेका छन् भने एमाले ५ स्थानमा विजयी भएको छ । सुदूरपश्चिम प्रदेशमा भने गठबन्धनको सरकार बन्न सक्ने देखिएको छ ।

पछिल्लो नतिजाअनुसार कांग्रेस १४, माओवादी केन्द्र ८, नागरिक उन्मुक्ति पार्टी ५ र एमाले ३ स्थानमा विजयी छन् । यसले गर्दा सात वटै प्रदेश अस्थिर राजनीतिको दुष्चक्रमा फस्ने निश्चित प्रायः देखिन्छ । 

विगतमा दलहरू सरकार बनाउन र ढाल्नमै केन्द्रित हुँदा नागरिकमा समेत राजनीतिप्रति वितृष्णाको स्थिति उत्पन्न भएको थियो । त्यसैले मुलुकको दिगो आर्थिक विकासका लागि स्थिर सरकार अनिवार्य सर्त हो भन्ने कुरालाई दलहरूले समयमै बुझ्नुपर्ने देखिन्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.