एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

मंसिर ११, २०७९
एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच बालकोटमा भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ ।

चुनाव सकिएर नयाँ सरकार गठनबारे चर्चा चलिरहेका बेला कांग्रेस नेता सिंह एमाले अध्यक्षलाई भेट्न आइतबार साँझ ५ बजे बालकोट पुगेका थिए । उनीहरुवीच करिब ४५ मिनेटजति समसामयिक राजनीतिका सम्बन्धमा कुराकानी भएको सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।

‘यसअघि पनि उहाँहरुबीच बेलाबखत भेट भइरहन्थ्यो, आइतबार झापाबाट फर्केपछि ओलीसँग भेट भएको हो’ लामिछानेले भने, ‘जितको बधाइ साटासाट गर्नुका साथै समसामयिक राजनीतिबारे दुई नेताबीच कुराकानी भएको छ ।’

नेपाली कांग्रेसभित्र प्रधानमन्त्रीका दाबेदार धेरैजना देखापरिरहेका बेला प्रकाशमान सिंह पनि प्रधानमन्त्रीका दाबेदार हुन् । काठमाडौं क्षेत्र नम्बर १ बाट राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेर निर्वाचित भएका सिंह एमाले अध्यक्ष केपी ओलीसँग राम्रो व्यक्तिगत सम्बन्ध रहेका नेताका रुपमा परिचित छन् ।