पहिचानको मुद्दा लिएर आएका छौं, सरकारमा सहभागी हुन्छौं : रञ्जिता

मंसिर ९, २०७९
पहिचानको मुद्दा लिएर आएका छौं, सरकारमा सहभागी हुन्छौं : रञ्जिता

कैलाली । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पुराना दललाई पराजित गर्दै कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी छन् । यो पार्टी कारागारमा रहेका पूर्वसासद रेशमलाल चौधरीको नेतृत्वमा करिब ३ महिना अघिमात्रै स्थापना भएको हो ।

टीकापुर काण्ड (२०७२) मा दोषी ठहर भई कारागारमा रहेका पूर्वसांसद रेशमलालले कारागारभित्रैबाट नागरिक उन्मुक्ति पार्टी गठन गरेका हुन् । उनी कारगारमा रहेका कारण श्रीमती रञ्जिताले अध्यक्ष बनेर पार्टी हाँकिरहेकी छिन् ।

स्थानीय चुनावमा पनि कैलालीका केही स्थानीय तहमा यो पार्टीले जितेको थियो । अहिले प्रतिनिधिसभामा २ सिट जितिसकेको छ भने एक सिटमा अग्रता लिइरहेको छ ।

कैलालीबाट २०७४ सालमा रेशमलाल चौधरीले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट जितेका थिए । तर, उनी पाँच वर्षको अवधिमा संसदमा छिर्न पाएनन् । कारगारमै हुँदा पार्टी गठन गरेर उनले अहिले थप जित निकालेका छन् ।

कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि पार्टी अध्यक्ष रञ्जितासँग कान्तिपुर टेलिभिजनकर्मी टेकराज जोशीले संक्षिप्त कुराकानी गरेका छन् ।

कैलाली १ बाट ठूलो मतान्तरले जित्नुभयो, कस्तो महसुस भइरहेको छ ?

खुसी लागेको छ । एकदमै गर्व महसुस भएको छ । ३० हजारभन्दा बढी मतदाताले विश्वास गरेर मतदान गर्नुभयो, खुसी लागेको छ ।

के कारणले जनताले मत दिए जस्तो लाग्छ ?

योपटक मलाई ३० हजारभन्दा बढी मत आयो । यो २०७४ सालदेखि नै आइरहेको मत हो । म यो मतलाई २०७२ को घटनासँग जोड्न चाहन्छु । हामी दोषी छैनौं । हामी न्यायको खोजीमा छौं । हामीलाई मतदान गर्ने जनताले खोजेको पनि न्याय हो ।

अरु पार्टी र तपाईंको नागरिक उन्मुक्ति पार्टीमा के फरक छ ?

अरु पार्टी र हाम्रो पार्टीमा धेरै भिन्नता छ । हामी पहिचानको मुद्दा लिएर आएका छौं । कारगारमा रहेका राजबन्दी छुटाउनुपर्छ भन्ने हाम्रो मुद्दा हो ।

पार्टीको भावी एजेण्डा के छ ?

हाम्रो एजेण्डा राजबन्दी परिवारको रिहा हो । राजबन्दी परिवारसहित जतिजनालाई झुटा मुद्दा लागाइएको छ, त्यो खारेज हुनुपर्छ । २०७२ को घटनालाई अपराधिक बनाइएको छ, यसलाई राजनीतिक मुद्दा बनाउनुपर्छ ।

तपाईको पार्टीसँग यहाँका मतदाताको थुप्रै अपेक्षा छ, अबको दिनमा चुनौती के छ ?

अबको चुनौती धेरै नै छ । पाँचवर्ष जनप्रतिनिधिविहीन भएर बसेको टीकापुरमा धेरै नै चुनौती छ । कैलाली क्षेत्र नं. १ मा विकासका धेरै चुनौती छन् । बाढीपीडितका लागि तटबन्धनको काम गर्नुपर्ने छ । शिक्षा र स्वास्थ्यको समस्या छ । घरदैलोका क्रममा महिला स्वास्थ्य समस्याका बारेमा मैले जानकारी पाएँ । मेरा लागि यो ठाउँमा धेरै चुनौती छ ।

अब तपाईंहरू सरकारमा सहभागी हुनुहुन्छ  ?

पक्कै पनि हामी सरकारमा सहभागी हुन्छौं । हाम्रो पहिचानको मुद्दा र माग सरकारले सुन्छ भने हामी सहभागी हुन्छौं ।

तपाईंलाई जिताएर जनताले टीकापुर घटना राजनीतिक मुद्दा हो भनेर अनुमोदित गरेका हुन् ?

यो घटना राजनीतिक मुद्दा हो भनेर अनुमोदित गर्नुपर्छ । टीकापुर घटनापछि २०७४ सालमा रेशमजी ३३ हजार ३४१ मत ल्याएर विजयी हुनुभएको थियो । तर, उहाँलाई जनताले दिएको मतको कदर भएन । अहिले हामीले पार्टी खोल्यौं । पार्टी खोलेको तीन महिनामा जनताले हामीलाई विश्वास गरेर मत दिनुभएको छ । उहाँहरूले हामीलाई न्यायको लागि मत दिनुभएको हो । अब सरोकारवाला निकायले हाम्रो कुरा सुन्नुपर्छ । हाम्रो यो मुद्दालाई राजनीतिक बनाउनुपर्छ । तीन पटक यहाँका जनताले जिताएपछि पनि अब राज्यले हाम्रो कुरा सुन्दैन भने हामी बिद्रोह गर्छौं ।

पार्टीलाई अब देशभर विस्तार गर्ने योजना छ कि ?

पक्कै छ । यो एउटा समावेशी पार्टी हो । सोही कारण सबै जातजाति हाम्रो पार्टीमा आउन सक्नुहुन्छ । यो पार्टीलाई मजबुत बनाउन पनि हामी अन्य समुदायका मानिसलाई समेट्छौं ।