संसद र सत्तामा नयाँ समीकरणको प्रयास, सिके राउत र रवि लामिछानेको कस्तो रहँदा भूमिका ?

मंसिर ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
संसद र सत्तामा नयाँ समीकरणको प्रयास, सिके राउत र रवि लामिछानेको कस्तो रहँदा भूमिका ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम आउँदै गर्दा यसपटक अघिल्लो संसदमाभन्दा भिन्न माहोल बन्ने देखिएको छ । पहिलो पटक प्रतिनिधिसभामा भाग लिएका दुईभन्दा बढी नयाँ दल संसदमा प्रवेश गर्दैछन् । स्पष्ट बहुमत कुनै पनि दलको नआउने स्थिति छ । नयाँ दलको उपस्थितिले संसदमा नयाँ रौनक थप्ने छ । तर सरकार गठनदेखि संसदको काम कारवाही कसरी अगाडि जाला भन्ने कौतुहलता भने बढेको छ ।

स्थापनाको एक वर्ष नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी बलियो जनमतसहित पहिलो पटक संसद प्रवेश गर्दैछ । त्यसबाहेक जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी पनि प्रतिनिधिसभामा प्रवेश गर्ने नयाँ दल हुनेछन् । भिन्न पृष्ठभूमिबाट राजनीतिक यात्रा सुरु गरेर संसद आउन लागेका जनमत पार्टीका सिके राउतदेखि राष्ट्रिय स्वतन्त्र पार्टीसम्मका उम्मेदवारले चुनावी मैदानमा उठाएका मुद्दालाई सदनमा कसरी उठाउलान् ? त्यो झन् चासोको विषय छ ।

संवैधानिक राजतन्त्रको मुद्दा लिएर हिँडेको राप्रपाको उपस्थिति पनि बढ्ने देखिन्छ। अघिल्लो संसदको पहिलो दल एमालेको आकार घट्दा कांग्रेसको बढ्ने र आफूलाई सरकार गठनमा निर्णायक भन्ने गरेको माओवादी केन्द्रको आकार खुम्चिँदै छ । एमालेबाट फुटेको एकीकृत समाजवादीले त राष्ट्रिय मान्यता पाउन पनि कठिन हुने देखिएको छ । यो परिस्थितिले सरकार गठनदेखि संसदका काम अगाडि बढ्लान ?

अहिलेसम्मको परिस्थितिले एमाले र कांग्रेस मिलेको अवस्था बाहेक दुई दल मिलेर सरकार गठन गर्न सक्ने सम्भावना देखिँदैन । यी दुई दल मिल्न तत्कालका लागि त्यति सजिलो पनि छैन् । यसको अर्थ संसद सुरुदेखि नै सरकार गठनको जोडघटाउमा प्रवेश गर्नेछ ।

कामकै कुरा गर्दा संसदको अघिल्लो कार्यकाल सुखद रहेन । प्रतिनिधिसभा २ पटकसम्म विघटनको प्रयास भएको थियो । त्यही कारण संसदले महत्वपूर्ण विधेयक पारित गर्न सकेन । बाँकी काममा मिलेर छिटो अघि बढाउनुपर्ने बेला मतपरिणामको अहिले देखिएको अंक गणितले संसद झन् अलमल र दाउपेचमा पर्ने त होइन भन्ने आंशका उत्पन्न भएको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.