ओलीले भने- गठबन्धन देउवा र दाहालको मितेरी साइनो मात्र हो

मंसिर १, २०७९
ओलीले भने- गठबन्धन देउवा र दाहालको मितेरी साइनो मात्र हो

झापा । नेकपा एमालेका केपी ओलीले पाँचदलीय गठबन्धनअन्तर्गत कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालको मितेरी साइनो मात्र भएको बताएका छन् । उनले झापाको मेचीनगरमा बिहीबार आयोजना गरिएको चुनावी  सभालाई सम्बोधन गर्दै अन्य तीन पार्टी पनि राष्ट्रिय पार्टी बन्न नसक्ने दाबी गरे ।

कार्यक्राममा ओलीले यो निर्वाचन राष्ट्रियता, स्थिरता र प्रभावकारी नीति निर्माताको पक्षमा मतदान गर्ने कि राष्ट्रघात र अस्थिरता पैदा गर्नेलाई छान्ने भन्ने कुरा मतदाताकै हातमा रहेको र मतदाताले नै फैसला गर्नुपर्ने पनि बताएका छन् । उनले भने, ‘गठबन्धन टालटुल गरी सत्ता स्वार्थको लागि बनेको हो ।’ उनले मंसिर ४ को निर्वाचनबाट एमालेले सरकार बनाउने र भूमिहीन र नागरिकतासम्बन्धी समस्या समाधान गर्ने बताए ।

निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा आठ घण्टाअगाडि झापाको मेचीननगर नगरपालिकामा चुनावीसभालाई सम्बोधन गरी साँझ आफ्नै निर्वाचन क्षेत्रको गौरीगन्जमा आयोजित सभामा सहभागी भएका थिए ।