
काठमाडौं । लगातारको वर्षा र पहिरोका कारण अवरूद्ध भएको बीपी राजमार्ग अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।
राजमार्गका विभिन्न खण्डमा माटो र ढुंगा खसेपछि सडक अवरूद्ध भएको र खुलाउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। नमोबुद्ध नगरपालिका-६ चौकीडाँडा, रोशी गाउँपालिका-७ चारसय बेशी, रोशी-११ डालाबेशी र रोशी-९ बोक्सीकुना, नार्के र घुमाउने क्षेत्रमा माथिबाट लेदो र ढुंगा खसेर सडक दुई तर्फी अवरूद्ध भएको प्रहरीले जनाएको छ।
सडक सफाइ तथा मर्मतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सडक डिभिजन कार्यालयका टोलीहरू निरन्तर खटिए पनि लगातार वर्षा र भिरालो भू–भागका कारण काममा कठिनाइ भैरहेको जनाइएको छ । जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय काभ्रेले सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेका छन् ।