विराटनगरमा छैन व्यवस्थित पशु बधशाला, नगरबासी अस्वस्थकर मासु सेवन गर्न बाध्य

आश्विन १५, २०८२ |सुशीला पाठक
विराटनगरमा छैन व्यवस्थित पशु बधशाला, नगरबासी अस्वस्थकर मासु सेवन गर्न बाध्य

विराटनगर । दशैं भन्ने बित्तिकै मासुको परिकार खाने पर्वको रूपमा लिइन्छ । 

यस्तो बेलामा रोगी र अस्वस्थ मासुको सेवनले स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुनाले सतर्क भएर स्वस्थ्य मासु मात्र प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन् । तर स्वस्थ्य र स्वच्छ मासु बिक्री विरतणका लागि वधशाला, भण्डार जस्ता उपयुक्त व्यवस्था विराटनगरमा छैन् । 

विराटनगरमा आधुनिक र व्यवस्थीत बधशालाको अभावमा अस्वस्थकर मासु खान बाध्य भएको विराटनगरबासीको गुनासो छ । मासु खाने पशुपन्छी स्वस्थ्य हुनुपर्छ । मासु खाने पशुपन्छी बध गर्नु अघि स्वास्थ्य प्राविधिकबाट स्वस्थ्य परीक्षण गराएर मात्र पशु बध गर्नुपर्छ । 

पशु प्राविधिक नभएको अवस्थामा पनि पशुको स्वस्थ्यको बारेमा जानकारी लिनुपर्छ । आफैंले हेर्दा पनि पशुको नाकबाट सिँगान बगेको, स्वाँस बढेको, जिउ तातो भएको, दिसा पिसाब सामान्य नभएको, हिडाईंमा समस्या भएको, चनाखो नभएको, झोक्रिएको पशुको मासु खान नहुने पशु चिकित्सकको भनाइ छ । 

पशु बध गर्ने ठाउँ र औजार स्वच्छ र सफा छैन भने पशु स्वस्थ्य भए पनि सङ्क्रमण हुने पशु चिकित्सकको तर्क छ । अन्यत्रबाट मासु किनेर ल्याउँदा मासु स्वस्थ्य पशुको हो कि होइन, ताजा हो कि होइन, उपयुक्त किसिमले फ्रिजमा भण्डारण गरिएको छ कि छैन भन्ने कुरामा ध्यान दिएर मात्र मासु किन्न विज्ञहरूले सुझाव दिएका छन् ।

करिव अढाई लाख जनसंख्या भएको विराटनगरमा व्यवस्थित पशु बधशाला बनाउन २०६५ सालमै सुरू गरे पनि अझै निर्माण सम्पन्न भएको छैन् । व्यवस्थित पशु बधशाला नभएकै कारण पशु प्राविधिकबाट स्वास्थ्य परीक्षण नगराई मासु पसलेले पशु बध गर्ने गरेका छन् भने बध गरेको मासुलाई फ्रिजमा नराखी झुण्ड्याएर राख्ने गरेका छन् । 

मासु पसलको अनुगमन र नियमन गर्ने निकाय विराटनगर महानगरपालिकाले पशु बधशाला निर्माण भएपछि मात्र विराटनगरबासीले गुणस्तरीय मासु खान पाउने बताएको छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।