
काठमाडौं । जलवायु परिवर्तन र अनौपचारिक क्षेत्रका श्रमिकका हकहितका विषयमा छलफल गर्न ‘अभियान सम्मेलन’ काठमाडौंमा सुरु भएको छ ।
एक्सनएड इन्टरनेसनल नेपाल, नेपाल महिला एकता समाज, युथ एड्भोकेसी नेपाल र सञ्चारिका समूहको सहकार्यमा सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ । सम्मेलनले जलवायु संकटको प्रत्यक्ष असर भोगिरहेका समुदाय र असंगठित क्षेत्रमा काम गर्ने श्रमिकको आवाज उठाउने, उनीहरूको जीवनस्तर सुधारका लागि नीति निर्माण तहसम्म सशक्त संवाद गर्ने उद्देश्य राखेको छ ।
सम्मेलनमा युवा अभियन्ता, कृषक, श्रमिक, सरकारी निकाय, नागरिक समाज र नीतिनिर्माताहरूको सहभागिता छ । सम्मेलन अघि आज बिहान र्यालीसमेत निकालिएको थियो । र्यालीमा सहभागीहरूले मार्च गर्दै जलवायु न्याय र श्रमिक अधिकारका पक्षमा ऐक्यबद्धता प्रदर्शन गरेका थिए ।