माओवादी अध्यक्ष दाहालद्वारा नक्खु खोलामा बगेकालाई उद्धार गर्ने चणिकलाल तामाङ सम्मानित

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
 माओवादी अध्यक्ष दाहालद्वारा नक्खु खोलामा बगेकालाई उद्धार गर्ने चणिकलाल तामाङ सम्मानित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो ।

तामाङले हिजो ललितपुर महानगरपालिका-२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए ।

खोलाले बगाएर झन्डै ५ सय मिटर तल पुर्‍याएपछि तामाङले उर्लंदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुवै जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफैं पौडेर बाँच्न सफल हुनु भयो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था भने अज्ञात छ ।

अध्यक्ष दाहालले संकटका बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’का रुपमा सम्मान गरिएको बताउनुभयो ।

काभ्रेको तेमाल गाउँपालिका-९ चोकटारका तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू बिहान खोला हेर्न आएको बेला मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.