सप्तरी । सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ टिकुलियाबाट तीन जना युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका २४ वर्षीय दिपककुमार मण्डल, १८ वर्षीय राजकुमार मुखिया र २३ वर्षीय आनन्द मुखिया छन् । तिनै जनाले भारतीय बजार कुनौलीबाट प्रतिबन्धित लागुऔषध ल्याइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट प्रोमेगाजिन हाइड्राक्लोराइड इन्जेक्नस २४ थान, डाइजेपाम इन्जेक्नस २४ थान र लेजिसिक २४ थान बरामद भएको सशस्त्र प्रहरी सीमा सुरक्षा गण राजविराजका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।