भोटेकोशी बाढी : डीएनए परीक्षणका लागि रगतको नमुना कहाँ र कसरी दिने ?

भाद्र २३, २०८३ |नारायण किलम्बू
भोटेकोशी बाढी : डीएनए परीक्षणका लागि रगतको नमुना कहाँ र कसरी दिने ?

काठमाडौं । भोटेकोशी बाढीमा परेकामध्ये एक हजार तीन ५८ जनाको शव फेला परे पनि अहिलेसम्म १ सय २ जनाको मात्र सनाखत हुन सकेको छ । ५३ सयभन्दा बढी अझै सम्पर्कविहीनको सूचीमा छन् । 

फेला परेका शव पनि कसका हुन् भनेर चिन्न सकिने अवस्था नभएपछि सरकारले जमिनमुनि व्यवस्थापन गरिरहेको छ । ती शव पहिचानमा सजिलो होस् भनेर डीएनए परीक्षणका लागि अहिले परिवारजनबाट रगतको नमुना संकलन भइरहेको छ ।

आज हामी डीएनए परीक्षणका लागि रगतको नमुना कहाँ र कसरी दिने र डीएनए परीक्षणपछि परिवारजनले कसरी शव पाउँछन् भन्नेबारेमा जानकारी दिँदैछौं ।

त्रिशुली थ्री ए जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर भक्तपुर ५ की रविना तुसिबाख्य भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकै १४ दिन भयो । यो बीचमा ३३ वर्षीया छोरीको कतै पत्तो लाग्न सक्छ कि भनेर बाबु घनश्याम कहाँमात्र भौतारिनु भएन ? 

कुनै उपाय नलागेपछि निराश हुनुभएका उहाँ डीएनए परीक्षणका लागि रगतको नमुना दिन प्रहरी अस्पताल महाराजगञ्ज पुग्नुभयो । अस्पताल परिसरमा ज्वाइँसँगै भेटिनुभएका उहाँले मलिन स्वरमा भन्नुभयो- सास त पाइएन, शव भए पनि देख्न पाए हुन्थ्यो ।

एकातिर आफन्त तथा परिवारजन हराएको पीडा छ भने भेटिएको शवसमेत आफन्तको हो कि होइन भनेर चिन्न नसक्दाको छटपटी । असंख्य पीडाले छोपिएका आफन्तहरु अवशेषसमेत पाउने आशामा प्रहरी अस्पतालमा डीएनए परीक्षणका लागि रगतको नमुना दिन लाइन लागिरहेका छन् । 

यही परिस्थितिसँग जुधिरहेका छन् माथिल्लो त्रिशुली १ मा कार्यरत ओमनाथ राईका परिवार । राईको हुलियासँग मिल्दोजुल्दो शव छ भनेपछि आफन्त कहिले नवलपरासी त कहिले बुटबल दौडिए । तर, कतै पनि पत्तो लागेन । निराश भएपछि डीएनए परीक्षणका लागि अस्पतालमा आएको सोलुखुम्बुका विनोदकुमार राईले बताउनुभयो ।

दु:ख र पीडा यतिमा मात्र सीमित छैन । डीएनए परीक्षणका लागि हराइरहेका व्यक्तिको सबैभन्दा नजिकको रगतको नाता बाबुआमा, छोरा वा छोरीमध्ये एक जनाको नमुना हुनुपर्ने भनिएको छ । हराएका ओमनाथको आमाबुबा समेत नभएकाले नमुना संकलनमा परिवार अलमलमा परेको छ ।

बाढीमा परेकामध्ये झन्डै पाँच हजार सम्पर्कविहीन छन् । फेला परेका शवमध्ये ९८ जनाको मात्र पहिचान हुँदा परिवारमा दिनहुँ छटपटी बढ्दो छ । अहिलेसम्म कुनै खोजखबर र शवसमेत नपाएपछि कतिपय परिवारले आ-आफ्नो परम्पराअनुसार मृत्युसंस्कार सुरु गरिसकेका छन् । कतिपयमा अझै आशा छ- परिवारजन फर्केर आउलान् भनेर ।

सम्बन्धित समाचार :

डीएनए म्याच भएपछि शव कसरी पाउँछन् आफन्तले ?


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।