
धादिङ । रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकैठाउँका २६ जना तीर्थयात्रीसहित धादिङका १ सय १३ जना सम्पर्कविहीन भएपछि अन्याेलमा परेका परिवार र समुदायले अब उनीहरू जीवित भेटिने आस मारेका छन् ।
शवसमेत भेटिने हो कि होइन भन्ने लागेर पीडित परिवारले आफ्ना हराएका आफन्तको अन्तिम संस्कारसमेत गर्न थालेका छन् । भदौ १० गते धादिङको सदरमुकाम धादिङबेंसी र आसपासका २६ जना आफन्तहरु मिलेर एकै गाडीमा गोसाइँकुण्ड तीर्थ यात्रामा निक्लिए, नजीकैका अन्य चारजना पनि फरक सवारीमा गासाइँकुण्ड यात्रामा निक्लिए ।
एकै गाडीमा गएका २६ र फरक सवारी गएका चार जनासहित धादिङका एक सय १३ जना भोटेकोशी बाढीपछि बेपत्ता भए । उनीहरु सम्पर्कविहीन भएपछि सिङ्गो जिल्लामा सन्नटा छायो । आफन्तहरु खोजीका लागि भौतारिए तर नुवाकोट र रसुवाको बेत्रावती असपाससम्म गएर फर्किएका आफन्तले जिवित भेट्ने आश मारे, प्रहरीले शवको फोटा सार्वजनिक गर्दा एकजनाको शव पहिचान भएपछि शवको खोजी गर्दा तीन दिनपछि सोमबार शव प्राप्त गरे ।
एउटा शव पाएसँगै मनको भित्र अझै आइपो पुग्नेहुन कि भन्ने आशा पनि हराएर गयो भने भद्रगोल शव व्यवस्थापनले आफन्तको शव भेटिए पनि राज्यले दिन सक्दैन भने निष्कर्ष उनीहरुले निकाले । केहीले साेमबारदेखि नै संस्कार अनुसारको अन्तिम कर्म सुरु गरिसकेका छन् भने केहिले अब कसरी अघि बढाउने भन्ने विषयमा छलफलमा जुटेका छन् ।
हराइरहेकाहरु अधिकांश एक परिवार र आफन्त छन् । सदरमुकामसँगै निलकण्ठ नगरपालिकाको धादिङबेंसी, सालबोटे, गैरी टोल र धारापानीमा अहिले सन्नाटा छाएको छ बस्ती रित्तो देखिएको छ, नजिका आफन्तहरू जम्मा भएका छन् तर अन्याेलमा छन् ।
कतिपय घरमा ढोका खोल्ने मान्छे छैन भने धेरै घरमा एक पुस्ताको नै अन्त्य भएको छ । कतिपयको घरमा नजिकका आफन्तहरुले आएर घर र पशुचौपायाको रेखदेख गर्नुपर्ने अवस्था छ । टोल नै रित्तो भएको अनुभूति छिमेकमा छ ।
न सास, न लास न बाकी रह्यो आस उनीहरु जबरजस्ती आफन्तको वियोग स्वीकार्न विवश देखिएका छन् ।