
जापान । जापानको राजधानी टोकियो नजिकै रहेको हाकोने क्षेत्र प्राकृतिक सौन्दर्य, तातोपानी, विश्व सम्पदा सूचीमा समावेश फुजी हिमालको मनोरम दृश्य र ऐतिहासिक सम्पदाका कारण प्रमुख पर्यटकीय गन्तव्य हो ।
जापानमा बसोबास गर्ने नेपाली समुदायबीच पनि फुजी हिमालको हाकोने क्षेत्र लोकप्रिय छ । ज्वालामुखी क्षेत्र ओवाकुदानी, लेक आशीमा चल्ने पर्यटकीय जहाज, हाकोने रोपवे र ऐतिहासिक हाकोने यहाँका मुख्य आकर्षण हुन् ।
जापानको राष्ट्रिय पहिचान, संस्कृति र प्राकृतिक सौन्दर्यको प्रतीक फुजी हिमाल पनि यहीँ छ । सन् २०१३ मा युनेस्कोले विश्वसम्पदा सूचीमा समावेश गरेको यो ठाउँबाट सफा मौसममा फुजी हिमालसमेत देख्न सकिने भएकाले पर्यटकको रोजाइमा परेको हो ।
फुजी हिमाल एक सक्रिय ज्वालामुखी हो । सन् १७०७–१७०८ मा यहाँ ठूलो ज्वालामुखी विस्फोट भएको थियो । अहिले ज्वालामुखी निष्क्रिय भए पनि वैज्ञानिकहरूले निरन्तर निगरानी गरिरहेका छन् । हाकोनेमा एउटै यात्रामा पहाड, ताल, ज्वालामुखी क्षेत्र र जापानी संस्कृतिको अनुभव लिन सकिने भएकाले विदेशी पर्यटक पनि उल्लेख्य भेटिन्छन् ।
सन २०२५ देखि २०२६ को जुन महिनासम्म ४७ लाख आन्तरिक तथा विदेशी पर्यटक फुजी हिमाल चढ्न, सूर्योदय हेर्न, तथा यसको वरिपरिको रमणीय दृश्यको आनन्द लिन यहाँ पुग्छन् । फुजी हिमाल जापानको सबैभन्दा प्रसिद्ध प्राकृतिक आकर्षणमध्ये एक हो र यसको सुन्दर शंकु आकारले विश्वभर प्रसिद्धि कमाएको छ ।
त्यसैले जापानीहरु यो हिमाललाई सम्मान स्वरुप फुजी सान भनेर बोलाउँछन् । जापानका आन्तिरक पर्यटक नोजोमि भन्नुहुन्छ, 'कालो अन्डा खाए आयु बढ्छ, अनुसन्धानले देखाएको हो । विदेशी पर्यटक कालो अन्डा खान आउनुहुन्छ ।'
यस्तै जापानका आन्तिरक पर्यटक साकिने मोस मोस भन्नुहुन्छ, 'म सात पटक आएँ । कालो अन्डा, ज्वालामुखीको प्राकृतिक गन्ध र फुजी हिमालको प्रत्यक्ष दृश्य हर्न आयौँ ।' ज्वालामुखी क्षेत्रमा ढुंगाबाट तातो बाफ र सल्फर ग्यास निस्कन्छ । यस क्षत्रको शान्त वातावरण र प्राकृतिक सम्पदाले विश्वभरका पर्यटकको ध्यान तानेको हो ।