
धनुषा । मधेश प्रदेशलाई अन्नकाे भण्डारको उपमा दिइए पनि अहिलेसम्म सिँचाइको उचित व्यवस्था हुन सकेको छैन ।
गत वर्ष सुक्खा लागेका बेला किसानसँग गरेको वाचा पनि सरकारले कार्यान्वयन गरेको छैन । बरू उल्टै सिँचित क्षेत्र गत वर्षभन्दा झन्डै साढे ४ प्रतिशतले घटेको छ । जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत बसहिया र रुपैठाको धान, गहुँ, तेलहन र दलहन बाली फल्ने उर्वर फाँटमा धान लगाउने समय भएकाले किसानहरू आलीकुना खन्न थालेका छन्। तर, यहाँको हजारौं बिघा जग्गामा सिँचाइको व्यवस्था छैन।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनमा मधेश, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेषण गरेको छ । कम वर्षाको सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको महाशाखाको आकलन छ ।
धान रोप्ने समयमा खडेरी पर्ने भएकाले आकासेपानीमा निर्भर किसान त्यसको प्रत्यक्ष मारमा पर्छन् । गत वर्ष पनि पानी नपर्दा मधेशका अधिकांश जिल्लामा खानेपानी तथा सिँचाइको चरम अभाव भएको थियो । अवस्था गम्भीर बन्दै गएपछि मधेश प्रदेश सरकारले २०८२ असार २६ गते प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्यो भने प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले साउन ७ गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम मधेशका आठै जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्यो ।
सँगै संघ सरकारले ५ सय डिप बोरिङ र प्रदेश सरकारले १४ सय स्यालो ट्युबवेल गाड्ने घोषणा गरे तर कार्यान्वयनको शून्य छ । प्रदेश सरकारले यहाँ उपज बढाएर देशलाई नै खुवाउने फिड द नेसनको नारा दुई वर्षदेखि दिँदै आएको छ । तर, राष्ट्र बैँकको प्रतिवेदनअनुसार मधेश प्रदेशको कुल सिँचित क्षेत्रफल गत वर्ष २ दशमलव ४१ प्रतिशतले बढेकोमा यस वर्ष ४ दशमलव ३४ प्रतिशतले घटेर ३ लाख १९ हजार ८० हेक्टरमा झरेको छ ।
आर्थिक गतिविधि अध्ययन अर्ध-वार्षिक प्रतिवेदन-२०८३ अनुसार यस वर्ष कुलोद्वारा सिँचित ५ दशमलव ६७, नहरद्वारा सिँचित ० दशमलव ९७ र बोरङिद्वारा सिँचित क्षेत्र ९ प्रतिशतले घटेको हो । खेतखेतमा पानी हातहातमा रोजगारीको नारा दिएको प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा ४० करोड, २०८१/८२ मा ४५ करोड र चालू आर्थिक वर्षमा २० करोड कृषि विद्युतीकरणका नाममा छुट्याए पनि काम भने एक रुपैयाँको पनि भएन ।
राष्ट्र बैँकका अनुसार प्रदेशको समग्र कृषि बालीको कुल उत्पादनमा १० दशमलव ५९ प्रतिशतले कमी भई ४२ लाख ५२ हजार १ सय ९९ मेट्रिक टन सिमित भएको छ । गत आर्थिक वर्षको यही अवधिमा कुल उत्पादन १ दशमलव १७ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म मधेश प्रदेशमा धान १३ दशमलव ४८, मकै ३४ दशमलव ०९, गहुँ २२ दशमलव ४४, कोदो ६९ दशमलव ०५, आलु ५७ दशमलव ९७ र दलहन उत्पादन २० दशमलव ८६ प्रतिशतले घटेको छ ।