तस्करीमा मधेश प्रहरी प्रमुख नै मुछिने गरी अडियो सार्वजनिक

डीआइजीलाई साढे ४ लाख रुपैयाँ दिएको तस्करीका आरोपीको दाबी
दुई प्रहरीलाई मुख्यालय तानेर अनुसन्धान
वैशाख ९, २०८३ |अमरकान्त ठाकुर|विनय आजाद
तस्करीमा मधेश प्रहरी प्रमुख नै मुछिने गरी अडियो सार्वजनिक

सिरहा । मधेशमा हुने तस्करीमा संगठित रूपमै सुरक्षा निकायका तल्लो तहदेखि उच्च अधिकारीहरूसम्मकै संलग्नता रहँदै आएको तथ्य खुलेको छ । 

कान्तिपुरले प्राप्त गरेको प्रहरी र तस्करीका आरोपित व्यक्तिबीचको फोन संवादको अडियो सामग्रीले यो तथ्यको खुलासा भएको हो, जसमा मधेशका प्रहरी प्रमुखसमेत मुछिएका छन् ।

मधेशमा संगठित तवरले तस्करी हुँदै आएको र यसमा सुरक्षा निकायका तल्लो तहदेखि उच्च अधिकारीसम्मकै संलग्नता रहँदै आएको तथ्य खुलेको हाे । यसलाई पुष्टि गर्ने एउटा कल रेकर्ड कान्तिपुरले फेला पारेको छ, जसमा तस्करीका प्रमुख आरोपी राजीव महासेठले जिल्ला प्रहरी कार्यालय, धनुषामा कार्यरत वरिष्ठ सई सागर राणासँग कुरा गर्दै सई जयलाल यादवमार्फत मधेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियालाई साँढे चार लाख रूपैयाँ दिएको बताएका छन् । 

तस्करीको लाइन मिलाएबापत आफ्नो तीन लाख र अर्का उमेश नाम गरेका व्यापारीको डेढ लाख गरी साढे चार लाख रूपैयाँ डीआईजीलाई पठाएको अडियोमा सुन्न सकिन्छ । धनुषाका प्रहरी प्रमुख एसपी रूगमबहादुर कुँवरका लागि तस्करीमा संलग्न व्यक्तिहरूसँग वरिष्ठ सई राणाले पैसा उठाउने गरेको विषय बाहिर आएपछि प्रदेश प्रहरी कार्यालयले आन्तरिक छानबिन र कारबाही अघि बढाएको थियो । 

आफूमाथि कारबाही प्रक्रिया अघि बढेपछि राणाले यो कल रेकर्ड सार्वजनिक गरेको मधेश प्रदेश प्रहरी कार्यालयको दाबी छ । यससँगै राणालाई निलम्बन प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । यस विषयमा राणासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । 

राणा र तस्करीका आरोपी महासेठबीच केही समयअघि भएको ४ मिनेट ९ सेकेन्डमा अडियोमा नाम लिइएका सई जयलाल यादव र वरिष्ठ सई गोपाल थापा मगर भने डीआइजीको घुमुवाका रूपमा काम गर्दै आएका थिए । आर्थिक लेनदेनमा नाम मुछिएपछि उनीहरूलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । 

उनीहरूसँग कुरा गर्न खोज्दा मोबाइल स्विच अफ थियो । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले जयलाल यादव र गोपाल थापा मगरको बारेमा गुनासो आएपछि प्रधान कार्यालय तानेर सुपरीवेक्षण तथा अनुगमन इकाइमार्फत अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

यस प्रकरणका विषयमा डीआईजी थपलिया भने अनावश्यक विवाद सिर्जना गर्न खोजिएको दाबी गर्नुभएको छ । यो कुराकानीबाट तल्लो तहका प्रहरीदेखि उच्च अधिकारीसम्मै तस्करहरूको पहुँच रहेको र उनीहरूले प्रहरीलाई महिनावारी ठूलो रकम बुझाउँदै आएको प्रष्ट हुन्छ ।

प्रदेशको प्रहरी नेतृत्वदेखि तल्लो तहका प्रहरीसम्म आर्थिक विवादमा मुछिएको यो पहिलो घटना होइन । यसअघिका प्रहरी नेतृत्व र तल्ला प्रहरीहरू पनि यसबाट अछुतो छैनन् । जसले मधेशमा हुँदै आएको संगठित तस्करीलाई उजागर गरेको छ ।

मधेशमा सुरक्षा निकायका अधिकारीहरू आर्थिक विवादमा मात्रै सीमित छैनन्, आचरणविपरीतका गैरकानूनी कार्य, मानवअधिकार उल्लंघनलगायतका घटनामा पनि मुछिँदै आएका छन् । यी घटनाहरूले प्रहरीको मर्यादा, व्यवसायिकता र विश्वासनीयतामाथि नै प्रश्न उठाएको छ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।

Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।