
सिरहा । सिरहा कारागार फेरि बढेको तनावका बीच प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ ।
कारागारमा विवाद गर्दै आएका २३ जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा राखिएको छ । उनीहरूलाई अब कहाँ पठाउने भन्ने विषयमा अहिले टुंगो लागिनसकेको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयाे ।
'उनीहरू अहिले प्रहरी हिरासतमा छन्, उनीहरूलाई कुन-कुन कारागारमा पठाउने विषयमा हामीले विभागसँग अनुमति मागेका छौँ,' उहाँले भन्नुभयाे, 'विभागबाट आउने निर्देशनअनुसार उनीहरूलाई अन्यत्र पठाउँछौं ।'
सिरहा कारागारमा पछिल्लोपटक फेरि गत शनिबारदेखि नै विवाद चलिरहेको थियो । दुई दिनअघि विवादका क्रममा कारागारभित्रको एउटा समूहले चौकीदार प्रेम चौधरीसहित दुई जनालाई अनियमितता र असुलीको आरोप लगाउँदै कारागारबाट बाहिर निकालिदिएको थियो ।
प्रहरीले पछि उनीहरूलाई कारागारभित्र पठाउने प्रयास गरे पनि सफल नभएपछि उदयपुरस्थित कारागार पठायो । त्यसपछि पछिल्लो विवादमा संलग्नहरूलाई पहिचान गरी मंगलबार नियन्त्रणमा लिएर निकालिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जनाउनुभयाे ।
सिरहा कारागारमा व्यवस्थापकीय कमजोरीका पटक पटक विवाद हुँदै आएको छ । यसअघि गत माघ २६ मा पनि विवाद हुँदा सुरक्षा निकायले गरेको अपरेसनका क्रममा कारागारभित्रबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको थियो ।
प्रहरीले त्यससँगै नाइके इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएर अन्य कारागारमा सारेको थियो । त्यसपछि इन्द्रजित पक्षधरले कारागारमा सिर्जना गरेको तनाव तीन दिनमा नियन्त्रणमा आएको थियो ।