
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र रूपमा अघि बढेको छ । दलहरूको चुनावी गतिविधि बढेको छ भने सुरक्षाका लागि डेढ लाख निर्वाचन प्रहरी छानिएका छन् ।
२१ फागुनमा हुने निर्वाचन सुरक्षामा ४० दिन कार्यावधि तोकेर नेपाल प्रहरी मातहत खटिने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल एपीएफअन्तर्गत १५ हजार १ सय १० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी छानिएका हुन् ।
छनोट भएका निर्वाचन प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटबाट तालिम दिन सुरू गरिएको छ । २५ पुसदेखि ३ माघसम्म निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरिएकामा देशभरबाट करिब २ लाख जनाको आवेदन परेको थियो ।
त्यसमध्येबाट छनोट भएकालाई आइतबारबाट नियुक्ति पत्र दिई तालिममा खटाइएको हो । १८ वर्षदेखि ५४ वर्ष उमेर समूहकालाई निर्वाचन प्रहरीमा भर्ना आह्वान गरिएको थियो । छनोट भएका निर्वाचन प्रहरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको जवान सरहको आधारभूत तलब, पोसाक, रासनलगायत सुविधा दिइएको छ ।
यसैबीच, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ ।