
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले भ्रष्टाचारविरूद्धको लडाइँ एक दिनको अभियान नभई निरन्तरको सङ्घर्ष भएको उल्लेख गर्नुभएको छ ।
भ्रष्टाचारविरूद्धको २२औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सुशासनका पक्षधर सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा मंगलबार शुभकामना व्यक्त गर्दै उहाँले भ्रष्टाचार अन्त्यका लागि राजनीतिक नेतृत्वको इमानदार प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सचेत सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरूद्धको महासन्धि सन् २००३ मा पारित भएपछि हरेक वर्ष डिसेम्बर ९ मा यो दिवस मनाउने गरिन्छ । नेपालले सन् २०११ मा यो महासन्धिलाई अनुमोदन गरी सुशासन र पारदर्शीताप्रति आफ्नो प्रतिबद्धता जनाएको थियो ।
उहाँले भन्नुभएको छ, “म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौँ, सुशासनकै पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, विचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ ।”
उहाँले बिना कुनै राजनीतिक आग्रह र पूर्वाग्रह, भूटानी शरणार्थी प्रकरणलगायत ठूलाठूला भ्रष्टाचार काण्डहरूको छानबिन अघि बढाइएको पनि बताउनुभयो । “यसका साथै प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शीता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्वपूर्ण कदम चालिए, हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्चपदस्थ सबैको सम्पत्ति छानबिनको माग मैले संसद्को ‘रोष्टम’बाटै समेत गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्याउँछु,” उहाँले भन्नुभएको छ ।