
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको कार्यक्रम आइतबारदेखि सुरू भएको छ ।
समानुपातिक निर्वाचनमा भाग लिन पहिलो दिन ३३ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई दर्ताका लागि मंसिर २१ देखि २३ गतेको समय दिँदै आह्वान गरेको थियो । सोही बमोजिम आइतबार ३३ दल दर्ता भएका हुन् ।
श्रम संस्कृति, जनअधिकार, नागरिक सेवा, सार्वभौम नागरिक पार्टीलगायत नयाँ दल पनि समानुपातिक निर्वाचनका लागि दर्ता भएका छन् । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने मङ्सिर २४ गते प्रकाशित हुनेछ ।
यसरी आवेदन दिएका दलले आगामी पुस १३ र १४ गते बिहान दसदेखि अपराह्न चार बजेसम्म उम्मेदवारको बन्द सूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी माघ ३० गते भने समानुपातिकतर्फको उम्मेद्वारको अन्तिम बन्द सूची प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कुल २७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेद्वारको मनोनयन पत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ ।
उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेद्वारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । आयोगमा दर्ता भएका १ सय ४३ राजनीतिक दलमध्ये आगामी निर्वाचनमा १ सय १४ दलले भाग लिँदैछन् ।
एकल निर्वाचन चिन्ह लिइ संयुक्तरूपमा भाग लिने ५ र एक्ला एक्लै निर्वाचनमा भाग लिने दल १ सय २ छन् । निर्वाचन चिन्ह प्रयोग हुने कुल दलको संख्या भने १ सय ७ छ । आयोगले १ सय ७ राजनीतिक दललाई आजै निर्वाचन चिन्ह प्रदान गरेको छ।