विर्तामोडमा ‘संकटपछिको अर्थतन्त्र : अवसर र चुनौती’ राष्ट्रिय प्यानल डिस्कसन सम्पन्न

मंसिर २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
विर्तामोडमा ‘संकटपछिको अर्थतन्त्र : अवसर र चुनौती’ राष्ट्रिय प्यानल डिस्कसन सम्पन्न

झापा । वीरता जेसीजको आयोजनामा विर्तामोडमा ‘संकटपछिको अर्थतन्त्र : अवसर र चुनौती’ विषयक राष्ट्रिय प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ। 

वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभयाे। कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले देशको राजश्व संकलन कमजोर बन्दा सामान्य खर्च धान्नसमेत सरकारले ऋण लिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयाे। मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको उल्लेख गर्दै उहाँले लगानीमैत्री वातावरण निर्माणका लागि सरकार बढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयाे।

उहाँले राजनीतिक दलबीच विश्वासको कमी बढिरहेको र आगामी निर्वाचनको विषयमा अनावश्यक शंका उत्पन्न भइरहेको चिन्ता व्यक्त गर्नुभयाे। कार्यक्रममा लिड नेपालका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, उद्योगी-व्यवसायी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले समग्र देशको आर्थिक अवस्था, वर्तमान चुनौती र भावी सम्भावनाबारे गहन छलफल गरेका थिए।

नबिल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवालीले राजनीतिक अस्थिरताले अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको टिप्पणी गर्दै आर्थिक विकासका लागि स्थिरता, सकारात्मक सोच र जिम्मेवार नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयाे। औपचारिक सत्रपछि ‘संकटपछिको देशको अर्थतन्त्र : अवसर र चुनौती’ विषयमा प्यानल डिस्कसन गरिएको थियो। उनीहरूले मौद्रिक नीति, निजी क्षेत्रको अवस्था, लगानी प्रवाह र आर्थिक सुधारका दिशा-निर्देशनबारे महत्वपूर्ण विश्लेषण प्रस्तुत गरे।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.