
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहीत ढंगले निर्वाचन गर्न आग्रह गर्नुभएको छ ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा भण्डारीले यस्तो आग्रह गरेको भण्डारीको भनाइ उद्धृत गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सरकारले गरिरहेका कामबारे भण्डारीलाई जानकारी गराउनु भयो ।
उहाँले सरकारले गरिरहेको कार्यप्रति पूर्वराष्ट्रपति भण्डारी अत्यन्तै सकारात्मक रहेको समेत बताउनु भयो । उहाँले समयमै निर्वाचन सम्पन्न गर्नेगरी अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि मन्त्री खरेलको भनाइ छ ।पूर्वराष्ट्रपति भण्डारीले आइतबार जेन-जी आन्दोलनको क्रममा आगजनीमा परी खण्डहर भएका सिंहदरबारभित्रका संरचनाको अवलोकन गर्नुभएको थियाे । सोही क्रममा प्रधानमन्त्री कार्की र भण्डारीबीच भेटघाट भएको हो ।