१०२ वटा दल एक्ला-एक्लै निर्वाचनमा जाने

मंसिर २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
१०२ वटा दल एक्ला-एक्लै निर्वाचनमा जाने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्ला-एक्लै निर्वाचनमा जाने भएका छन् ।

१२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरूले एक्ला-एक्लै निर्वाचनमा जानेगरी निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । १२ वटा राजनितिक दलहरूले भने संयुक्त रूपमा एकल चिन्ह प्रयोग गरी निर्वाचनमा जानेगरी आयोगमा निवेदन दिएको उहाँले बताउनु भयो । 

उहाँकाअनुसार १२ वटा राजनितिक दलले विभिन्न समूह बनाएर पाँचवटा चुनाव चिन्ह प्रयोग गरी निर्वाचनमा भाग लिनेछन् । एकल चुनाव चिन्ह र संयुक्त चुनाव चिन्ह प्रयोग गरी ११४ वटा राजनितिक दलले निर्वाचनमा भाग लिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतिनिधि सभा निर्वाचनमा ११४ वटा दल १०७ वटा चिन्हमार्फत निर्वाचनमा सहभागी हुनेछन् । आयोगले राजनितिक दलहरूको निवेदन स्वीकृत गरिसकेको उहाँले बताउनुभयाे ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने आइतबारबाट सुरू गरेको छ । समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंगलबारसम्म निवेदन दिन सक्नेछन् । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ भने आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेस गर्ने समय तोकिएको छ । 

बन्दसूची पेस गर्दा ५० प्रतिशत महिला हुनुपर्ने आयोगले जनाएको छ । प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन गर्ने कार्यतालिका छ । समावेशी समाजवादी पार्टीको अध्यक्ष नुमा लिम्बूले निर्वाचनका लागि आफ्नो पार्टीले प्रदेश, जिल्ला, स्थानीय, वडाहरू सबैतिर संरचना विस्तार गरेर तयार गरिरहेको जानकारी दिनुभयो । लैंगिक तथा अल्पसंख्यक समुदाय, आदीवासी, जनजाती, मनोरञ्जन क्षेत्रका सबैलाई सहभागी गराएर निर्वाचनको तयारी गरिरहेको उहाँले बताउनु भयो ।

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने माग आफूहरूको रहेको बताउनु भयो । युवाहरूलाई देशमा रोजगारी दिनुपर्ने, नेपालीको सम्पत्तिको सीमाङ्कन हुनुपर्ने, विदेशमा सम्पत्ति राख्न नपाउने, उत्पादनका मुख्य-मुख्य साधन र सेवा सामाजिकीकरण गर्नुपर्ने माग उहाँले राख्नुभयो । असमान सन्धि,सम्झौता खारेज हुनुपर्ने उहाँले माग गर्नुभयो ।

समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिने प्रक्रियाका लागि राजनितिक दलहरू निर्वाचन आयोगमा जाने क्रम बढेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.