
काठमाडौं । बर्दियामा नागरिकतासम्बन्धी प्रशासनिक झमेलाका कारण दुई जनाले ज्यान गुमाएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।
गृह मन्त्रालयले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर जीवन गुमाएको घटनामा छानबिन गर्न सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा समिति गठन गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले समेत सामाजिक सञ्जालमार्फत उक्त घटनामा आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको थियो । त्यसपछि उहाँले सत्यतथ्य बुझ्नका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिनु भएको थियो । मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो।
समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समितिलाई आदेश दिइएको छ।