
जनकपुर । मधेश प्रदेशमा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि प्रदर्शन जारी राखेका छन् ।
मधेश प्रदेशमा नियुक्त मुख्यमन्त्री र मन्त्रीलाई बहिस्कार गर्न र कुनै पनि कार्यक्रममा सहभागी नगराउन अपील गर्दै सात दल आन्दोलनमा उत्रिएका हुन् । सात दलकै प्रदर्शनका कारण मंगलबार दिनभर असामान्य बनेको मधेश प्रदेशको राजधानी जकनपुरधाम बुधबार पनि सामान्य बन्ने संकेत छैन ।
तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले असंवैधानिक तरिकाबाट मधेशमा सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि आन्दोलित सात दलले प्रदर्शन सुरू राखेका हुन् । आन्दोलनक्रममा सुरक्षाकर्मीद्वारा आन्दोलनकारीहरूमाथि मंगलबार गरिएको लाठी चार्ज, अश्रुग्यास प्रहार तथा दमनको सात दलले भर्त्सना गरेको छ ।
सात दलले महोत्तरी र सिन्धुली सिमानानजिकको पानस रेस्टुरेन्टमा सपथ ग्रहण गरेका मुख्यमन्त्री सरोज कुमार यादवसहित मन्त्रिपरिषद्का अन्य सदस्यलाई सार्वजनिक रूपमा बहिस्कार र विरोध गर्न अपीलसमेत गरेका छन् ।