सरकारी सूचना र नागरिक सजगताका कारण यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम

पूर्वतयारी बढाउन सके क्षति न्यूनिकरण हुने विपद् प्राधिकरणको भनाइ
कार्तिक २६, २०८२
सरकारी सूचना र नागरिक सजगताका कारण यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम

काठमाडौं । सरकारी सूचना र नागरिक सजगताका कारण यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकोमा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपदमा परेर गत वर्ष चार सय ९५ जनाको निधन भएकामा यस वर्ष एक सय ४० जनाको ज्यान भएको छ ।

गत वर्ष विपद्का कारण १० हजार आठ सय २३ घरपरिवार प्रभावित भएकामा यस वर्ष पाँच हजार नौ सय ९५ घरपरिवार प्रभावित भएका छन् । विपदमा परेर गत वर्ष ६६ जना बेपत्ता भएकामा यस वर्ष ३० जना बेपत्ता भएका छन् । गत वर्ष विपद्जन्य घटनामा परेर पाँच सय २२ जना घाइते भएकामा यस वर्ष तीन सय जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

प्राधिकरणका अनुसार, यस वर्ष बाढीका दुई सय ९२, पहिरोका पाँच सय १३, भारी वर्षा तीन सय ९७ र चट्याङका दुई सय ५२ वटा घटना भएका थिए । बाढीमा परेर ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते हुँदा तीन हजार दुई सय घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए । यस्तै पहिरोमा परेर ६७ जनाको मृत्यु,चार जना बेपत्ता र ७७ जना घाइते भएका थिए भने एक हजार पाँच सय १८ घरपरिवार प्रभावित भएका छन् ।

भारी वर्षाका कारण सात जनाको मृत्यु, २० जना घाइते भए भने नौ सय ६६ घरपरिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार, चट्याङमा परेर २९ जनाको मृत्यु, एक सय ८९ घाइते हुँदा तीन सय ११ घरपरिवार प्रभावित भएका छन् ।

थप पूर्वतयारी बढाउन सके अझै क्षति न्यूनिकरण हुने विपद् प्राधिकरणको भनाइ छ।

यस वर्ष मनसुन सरदरभन्दा बढी अवधिसम्म रह्यो । २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन एक सय ३५ दिन रहेर गत असोज २४ गते बाहिरिएको थियो ।