
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका प्रमुख (मेयर) हर्क साम्पाङले गफले मात्रै रोजगारी सिर्जना नहुने बताउनुभएको छ ।
आइतबार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताउनु भयो । श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रूपान्तरण र आर्थिक रूपान्तरणको लागि फिल्डमा खटेर काम गर्ने उहाँको भनाइ छ ।
उहाँले उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको बताउनु भयो । उहाँले देश आफैँले बनाउने मौलिक शैली अपनाउने उल्लेख गर्नुभयो । देश विदेशी ऋणले मात्रै नचल्ने बताउनुहुँदै उहाँले देश अब नेपाली आँफैले बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गरिबी, अभाव र यसकै कारणले हुने विभिन्न खालका ठगी, भ्रष्टाचार, बेइमानीलाई अन्त्य गर्ने बताउनु भयो ।
उहाँले आफूहरूले दलको झण्डा नराख्ने बताउनु भयो । दलको चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उहाँको भनाइ छ । निर्वाचनको लागि तयारी पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले परम्परागत राजनीतिक दलजस्तो आफ्नो पार्टी नहुने पनि दाबी गर्नुभयो । हरेक टोलमा पार्टीले काम गर्ने श्रमदाता बनाउने उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगले साम्पाङको पार्टीलाई आइतबार मान्यता दिएको हो । साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिनुभएको छ ।